भिडियो कुराकानी तथा बैठक गर्नका लागि चर्चित जुम एपले नयाँ केही विषेशता तथा सेवा थप गरेको छ। विषेशगरी जुममार्फत् भएको कुराकानीको गोपनीयतामा प्रश्न उठिरहेका बेला यस एपका सञ्चालकले गोपनीयता सुनिश्चित गर्ने विषेशता थप गरिएको बताएका छन्।

जुम एपको सवैभन्दा पछिल्लो भर्सन ५.० मा गोपनीयता, सूचनाको सुरक्षालगायतलाई सुनिश्चित गर्ने विषेशतासहितका सेवाहरू थप गरिएको अधिकारीहरूले बताएका हुन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

त्यसैगरी पासवर्ड, वेविनार तथा क्लाउड रेकर्डिङ, एडमिन, सेटिङ्ग, बैठकको समयावधिलगायतका विषयमा पनि केही सुधार गरिएको कम्पनीले जनाएको छ।

विश्वभरी कोरोनाभाइरसको सङ्क्रमण फैलिन थालेपछि घरबाटै कुराकानी तथा बैठक, छलफल गर्न तथा सञ्चार माध्यमहरूले अन्तर्वार्ता लिनका लागि जुमको प्रयोग अत्यधिक हुन थालेको छ।

तर कतिपय बैठक तथा छलफल गोप्य तथा सुरक्षित हुनुपर्ने भएकाले यसको गोपनीयता र सुचनाको सुरक्षामा प्रश्न उठ्दै आएको थियो।

भारतको केन्द्रीय गृह मन्त्रालयले पनि गत अप्रिलमा जुमबाट हुने बैठक गोपनीयताको दृष्टिकोणले सुरक्षित नरहेको भन्दै औपचारिक प्रयोजनका लागि त्यसको प्रयोग नगर्न निर्देशन जारी गरेको थियो। रासस/पिटिआई