सामाजिक सञ्जाल वेबसाइट ट्विटरले झूटो समाचार प्रवाह रोक्नका लागि नयाँ फीचर ल्याएको छ । कुनै पनि लेखको लिंक रिट्वीट गर्नुअघि पहिला लिंक खोलेर पढ्न ट्विटरले प्रयोगकर्तालाई प्रोत्साहन गर्ने घोषणा गरेको छ । अहिलेका लागि यो फीचर एन्ड्रोइड प्रयोगकर्तालाई मात्र दिइने र आईओएस तथा अन्य प्लेटफर्ममा पछि उपलब्ध गराइनेछ ।
प्रयोगकर्ताले ट्विटरमा के शेयर भइरहेको छ बुझेर मात्र रिट्वीट गरून् भन्ने संस्थाको उद्देश्य हो । अहिले ट्विटरले ५जी नेटवर्क र कोभिड–१९ महाव्याधिलाई एउटै ट्वीटमा जोडेर लेख्दा लेबल लगाइदिने गरेको छ ।
त्यो लेबलमा क्लिक गर्दा फ्याक्ट चेकिङ अर्गनाइजेसन र सरकारी निकायमा प्रयोगकर्ता पुग्छ । लेबलको शीर्षक ‘कोभिड–१९ का विषयमा तथ्य प्राप्त गर्नुस्’ हो ।
गत अप्रिल महिनामा ५जीबाट भाइरस सर्छ भनी हल्ला फैलिएपछि ५जी टावरमा आगजनी गरिएको थियो । तर ५जीको वायरलेस नेटवर्कबाट भाइरस फैलिने कुरा हल्ला मात्र भएको प्रमाणित भएको थियो ।










