दमक। पुरानो आम्दाको नामले चिनिएको झापाको दमकमा रहेको दमक अस्पतालले पुनः अपरेशन सेवा शुरु गरेको छ । अघिल्लो बर्षको अषाढ २४ गतेबाट नै अपरेशन सेवा शुरु गरेको भएपनि भवन निर्माणका कारण असोज देखी सेवा बन्द थियो ।
पछि भवन निर्माण सम्पन्न भएपनि अपरेशन कक्ष सार्न केहि समय लागेको थियो भने कोरोना भाइरसका कारण सेवा सुचारु हुन सकेको थिएन् । तर आजबाट विभिन्न ५ प्रकारका अपरेशन सेवा शुरु भएको डाक्टर खड्ग लिम्बुले सवाल नेपाललाई जानकारी दिनु भयो ।
अस्पतालमा यसअघि हाइड्रोसिल तथा हर्नियाको अपरेशन गरिएको डाक्टर सुरक्षा बास्कोटाले जानकारी दिनु भयो । वहाँका अनुसार यसअघि हाइड्रोसिलका ३१ ओटा अपरेशन गरिएको छ भने हर्नियाका ७ ओटा अपरेशन गरिएको छ ।
डाक्टर बास्कोटाका अनुसार अस्पतालले डेलिभरीका लागि पनि आवश्यक सबै सेवा दिने तथा एपेन्डीक्सको पनि अपरेशन गरिने छ । त्यस्तै वहाँले हार्डजोर्नीका समस्या भएकाहरुको पनि अस्पतालले उपचार गर्ने जानकारी दिनुभयो ।



