चीनको वुहानबाट गत डिसेम्बरमा सुरु भएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण नेपालमा पहिलोपटक माघ १० (जनवरी २४) मा पुष्टि भएको थियो । ६ महिनाको अवधिमा नेपालमा संक्रमितको संख्या ८ हजार ६ सय ५ पुगेको छ । २२ जनाको मृत्यु भएको छ भने १ हजार ५ सय ७८ जना निको भएर घर फर्किएका छन् ।
१ लाख ६९ हजार १ सय ६५ को पीसीआर विधिबाट परीक्षण गरिएको छ । परीक्षणपछि पोजिटिभ वा नेगेटिभ रिपोर्ट आएका स्याम्पललाई कसरी व्यवस्थापन गरिन्छ ?
पोजिटिभ स्याम्पल ल्याबमै राखिन्छ
कोरोना भाइरस पोजिटिभ देखिएका स्याम्पललाई डिस्पोज गर्न मिल्दैन । कोभिड–१९ नयाँ रोग भएकाले सरकारले पोजिटिभ स्याम्पल राख्ने र नेगेटिभ १० प्रतिशत राखेर अरु डिस्पोज गर्ने मापदण्ड बनाएको छ ।
पछि पनि आवश्यक पर्ने भएकाले पोजिटिभ स्याम्पल सबै र नेगेटिभ आएका १० प्रतिशतलाई ल्याबमै माइनस ८० डिग्रीमा राखिन्छ । ‘सबै स्याम्पल वर्षौसम्म राख्नुपर्छ,’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुका कोरोना परीक्षण टीमका संयोजक डा. रञ्जित साहले भने, ‘पछिसम्म अनुसन्धान गर्नुपर्ने हुन्छ । त्यसैले माइनस ८० डिग्रीमा राखिन्छ ।’
नेगेटिभ रिपोर्ट आएका १० प्रतिशत राखिन्छ
परीक्षण भएकामध्ये नेगेटिभ रिपोर्ट आएका पनि १० प्रतिशत स्याम्पललाई सुरक्षित राखिन्छ । ‘लाखौँ टेस्ट भइसकेको छ,’ डा. साहले भने, ‘नेगेटिभ रिपोर्ट आएका १० प्रतिशत राखिएको छ । अरुलाई डिस्पोज गरिएको छ ।’
कसरी सुरक्षित राख्ने ?
परीक्षण गरिएको स्याम्पल राख्न समस्या नरहेको उनले बताए । ‘अहिलेलाई राख्नको लागि समस्या छैन । भीटीएमभित्र भाइरस हुन्छ । भीटीएम भनेकोे भाइरसको खाना हो । त्यसैले एउटा भाँडोमा माइनस ८० डिग्रीमा राख्यो भने वर्षौंसम्म भाइरस जीवित रहन्छ,’ उनले भने ।
किन राख्ने ?
नेपालमा परीक्षण गरिएको ठीक छै छैन हेर्न केही स्याम्पल विश्व स्वास्थ्य संगठन (डब्लूएचोओ)मा पठाउनुपर्ने हुन्छ ।
पछि पनि अनुसन्धान गर्न
जिन सिक्वेन्सिङ गर्न
नेपालमा कुन प्रकारको भाइरस हो भनी हेर्न
भाइरसका कारण मान्छे मरेकाे हाे कि हाेइन हेर्न
भाइरसमा उत्परिवर्तन भएको छ छैन, त्यसको अनुसन्धान गर्न
नेपालमा भएको भाइरसका लागि भ्याक्सिन बनाउन
कोरोना भाइरसबाहेक अरु किटाणु थियो या थिएन भनी हेर्न
कति नमुना राखिएको छ प्रयोगशालामा ?
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा अहिलेसम्म पोजिटिभ देखिएका २ हजार ५ सयभन्दा बढी स्याम्पल राखिएको छ । अरु स्याम्पल जहाँ परीक्षण गरिएको हो, त्यहीँ राखिएको छ ।
नेगेटिभ रिपोर्ट आएका ९० प्रतिशतलाई के गेर्न ?
कोरोनाको परीक्षण गरिएका तर नेगेटिभ रिपोर्ट आएका ९० प्रतिशत स्याम्पललाई डिस्पोज गरिन्छ । यी स्याम्पलमा अन्य प्राणघातक भाइरस पनि हुन सक्छन् । राम्रोसँग व्यवस्थापन गरिएन भने भाइरस मान्छेमा सर्ने जोखिम हुन्छ । त्यसैले व्यवस्थापन महत्त्वपूर्ण पक्ष हो ।
परीक्षण सकिएपछि सुरुमा प्याकिङ गरेर डिसइन्फेक्ट गरिन्छ । त्यसपछि अटोक्लेपमा १ सय २१ डिग्री तापक्रममा प्रसेर १५ पाउन्ड राखेर ३० मिनेटसम्म राखिन्छ । त्यो अवधिमा सबै भाइरस, ब्याक्टेरिया जे छ, त्यो मर्छ । क्लिन भएपछि डिस्पोज गरिन्छ ।
बर्ड फ्ल्लूको स्याम्पल अहिले पनि ल्याबमै
नेपालमा बर्ड फ्लूको प्राणघातक एउटा केस देखिएको थियो । त्यसको स्याम्पल अहिलेसम्म पनि राखिएको छ । त्यसलाई अहिले निकालेर टेस्ट गर्यो भने अहिले पनि पोजिटिभ देखिन्छ । त्यस्तै, इन्फ्लुएञ्जा पोजिटिभ देखिएका स्याम्पल पनि ल्याबमै राखिएको छ । नेसनल इन्फ्लुएञ्जा सेन्टरलाई डब्लूएचओले गाइड गरेको छ । डब्लूएचओले अनुमति नदिएसम्म फाल्न मिल्दैन । वर्षौंसम्म पनि ल्याबमै राख्नुपर्छ । शिलापत्र बाट साभार



