काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विदेशी महिलाले विवाहलगत्तै अंगीकृत नागरिकता प्राप्त गर्न सक्ने अहिलेकै प्रावधानको पक्षमा अडान दोहोर्याएको छ ।
राज्य व्यवस्था समितिमा पार्टीका तर्फका सदस्यहरुसहितको पदाधिकारी बैठकमा कांग्रेसले यस्तो अडान दोहोर्याएको हो । कांग्रेसले आफ्नो माग सम्बोधन नभए नोट अफ डिसेन्ट लेख्ने तयारी समेत गरेको छ ।
नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले २०१९ सालदेखि मानिआएको नियम र विगतको परम्परा तोड्न नसकिने सवाल नेपाललाई प्रतिक्रिया दिनु भयो ।
वहाँले नेपालको जमिन फिर्ता ल्याउन नसक्ने भएपछि कम्युनिष्टहरुले यो कुरा उठाएको बताउदै राज्य व्यवस्था समितिमा हुने पार्टीका सदस्यहरुले नोटअफ डिसेन्ट लेख्ने प्रष्ट पार्नु भयो ।
मधेसवादी दलहरु पनि अहिलेकै प्रावधान अनुसार विवाहलगत्तै अंगीकृत नागरिकता प्राप्त गर्न सक्ने प्रावधान राख्नुपर्ने अडानमा छन् । विधेयक लामो समयदेखि प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिमा छलफल भइरहेपनि सहमति जुट्न सकेको छैन ।
हिजो मात्र सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठकले नेपाली पुरुषसँग विवाह गरेकी विदेशी महिलालाई ७ वर्षपछि मात्रै वैवाहिक अंगीकृत नागरिकता दिने निर्णय गरेको थियो ।










