विराटनगर। प्रदेश १ को आजको संसद बैठक अवरुद्ध भएको छ । मोफसलमा बस्ने नागरिकलाई काठमाडौँ प्रवेशमा लगाइएको रोकको विरोध गर्दै नेपाली कांग्रेसले बैठक अवरूद्ध गरेको हो ।
बैठक सुरु हुनासाथ काँग्रेसका सांसदले आफ्नो स्थानबाट उठेर विरोध गरेका थिए । सोक्रममा सभामुख प्रदीपकुमार भण्डारीले प्रमुख प्रतिपक्षीलाई समय दिएर आफ्ना कुरा राख्न आग्रह गरेपछि प्रमुख सचेतक केदार कार्कीले कांँग्रेसका माग सदनमा प्रस्तुत गर्नुभएको थियो ।
प्रमुख सचेतक कार्कीले सुरुमै काठमाडौं बाहिरका मानिस कुन दर्जाको नागरिक हुन् भनेर प्रश्न गर्नुभएको थियो । उहाँले काठमाडौँ जानुपर्दा नाकाबाट मानिसलाई फर्काइएको घटनाप्रति आक्रोश व्यक्त गर्नुभयो । उहाँले काठमाडौँ जान कैयौँ नागरिक रोकिएका छन्, तर प्रदेश सरकार बोल्न नसकेको भन्दै आक्रोश पोख्नु भयो ।
प्रदेश सरकारले यसबारे जानकारी दिनुपर्ने भन्दै प्रमुख सचेतक कार्कीले प्रदेश १ सरकारले पीसीआर टेस्टमा भएको खर्च सदनमा जानकारी गराउनुपर्ने माग समेत राख्नु भयो ।
उहाँले मुख्यमन्त्री शेरधन राईले कोरोनासँग लड्दैछौं भनेर भिडियोमा मात्र भन्ने गर्नुभएको तर पारदर्शिता नदेखाको भन्दै सदनमा आएर हिसाब सार्वजनिक गर्न समेत माग गर्नु भएको छ । उहाँले प्रदेशको नामको विषयमा कुरा उठाउँदै नाम ल्याउँछौं भनिएको थियो तर प्रतिबद्धता अनुसार नाम नआएको भन्दै विरोध पनि गर्नुभएको थियो ।
साथै यातायात व्यवसायीको दुखेसो सरकारले सुन्नुपर्ने समेत उहाँको भनाई थियो । संसद बैठक अवरूद्ध भएपछि अब अर्को बैठक आगामी मंगलबार १ बजे बस्ने गरि स्थगित गरिएको छ ।










