काठमाण्डौं। नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक आज पुनः बस्दै छ । यो उसको तेश्रो बैठक हो । यसअघि दुई बैठक अन्तिम समयमा स्थगित भएका कारण आज बस्ने बैठकको एजेण्डा हिजो नै दुई अध्यक्षले तय गरिसकेका छन् ।
हिजो साँझ नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच भएको भेटवार्तापछि स्थायी कमिटीको एजेन्डा तय गरिएको हो । स्थायी समितिको बैठकमा मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसीको अनुमोदन, एक व्यक्ति एक नेता कार्यान्वयन, सरकार र पार्टीको कामको समीक्षा, सीमा विषय र कोरोना संकट मुख्य एजेण्डा बनाउने तय भएको छ ।
एमसीसी सम्झौता संसदले पारित गर्नुपर्ने म्याद असार १७ गते सकिँदै छ सो दिन दिउँसो संसद बैठक बस्दैछ । त्यो दिन संसदले यो सम्झौता पारित गरेन र यसको म्याद पनि थपिएन भने स्वतः निश्क्रिय हुनेछ । साथै अमेरिकाले नेपाललाई दिने भनिएको ५० करोड अमेरिकी डलर अनुदान सहयोग पनि रोकिने छ ।
त्यसैले आजको नेकपा स्थायी कमिटी बैठक महत्वपूर्ण मानिएको छ । यो बैठकले जे निर्देशन दिन्छ, सोही सर्कुलरअनुसार नै नेकपा संसदीय दलले निर्णय गर्नुपर्ने हुन्छ ।
एमसीसीको पक्षमा एकमत नभएपछि सुझाव दिन भन्दै नेकपाले भलनाथ खनाल, भीम रावल र प्रदीप ज्ञवाली सदस्य रहेको तीन सदस्यीय अध्ययन कार्यदल बनाएको थियो । कार्यदलको बहुमतले एमसीसी सम्झौता हुबहु पारित गर्न नमिल्ने मतसहितको प्रतिवेदन तयार पारेर पार्टी नेतृत्वलाई बुझाइसकेको छ ।
लामो समयपछि बस्न लागेको बैठकमा धेरै विषय उठाउनुपर्ने भएपनि मुख्यगरी एमसीसीमै बढी केन्द्रित हुने बुझिएको छ । नेकपाको स्थायी समितिको बैठक दुईपटक मिति तोकेर पनि अन्तिम अवस्थामा आएर स्थगित गरिएको थियो ।










