विकसित पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा तथा सरकारका काम कारवाहीबारे छलफल गर्न सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठक शुरू भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधवार शुरू बैठकमा अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली तथा पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक प्रतिवेदन पेश गर्ने कार्यक्रम तय भएको छ ।
बैठकमा समसामयिक विषयमा छलफल हुने स्थायी कमिटी सदस्य गणेश साहले लोकान्तरलाई जानकारी दिए । अध्यक्षद्वय ओली र प्रचण्डबीच स्थायी कमिटी बैठकका एजेन्डाबारे मंगलवार छलफल भएको थियो ।
नेकपाका एक स्थायी कमिटी सदस्यका अनुसार पहिलो दिनको बैठकमा अध्यक्षद्वयले राजनीतिक प्रतिवेदन पेश गर्नुका साथै मन्तव्य राख्नेछन् । पटक–पटक स्थगित हुँदै आएको स्थायी कमिटी बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षधर सदस्यहरूले भने सरकारको काम कारवाहीको विषयमा प्रश्न उठाउने तयारी गरेका छन् ।
नेकपाको यसपटकको स्थायी कमिटी बैठकमा अमेरिकी आर्थिक सहयोग प्याकेज मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अनुमोदनबारे पनि बहस हुँदैछ ।
वरिष्ठ नेता झलनाथ खनालसहितका नेताहरूले एमसीसी अनुमोदन गर्न नहुने भन्दै लबिङ गरिरहेका छन् । जुन ३० अर्थात् असार १६ गतेसम्म एमसीसी अनुमोदन हुनुपर्नेमा प्रतिनिधि सभाको बैठक असार १७ गतेसम्म स्थगित भएको छ ।
नेकपाले निर्णय गर्न नसक्दा संसद्को कार्यसूचीमा एमसीसीले प्रवेश पाएको थिएन । गत वर्षको पुस पहिलो साता बसेको स्थायी कमिटी बैठक त्यसयता बस्न सकेको थिएन । वैशाख २४ गतेका लागि बोलाइएको बैठक स्थगित भएको थियो ।










