दमक। प्रधानमन्त्री केपी ओलीको गृह नगर दमकमा एमसीसी विरुद्ध फेरी प्रदर्शन गरिएको छ । यसअघि पनि एससीसीको विरुद्धमा दमकमा पटक पटक प्रदर्शन भएका थिए । आज पनि आँफूलाई स्वतन्त्र युवा बताउने युवाहरुको समुहले विभिन्न नारा लेखिएका प्लेकार्ड सहित उपस्थित भएर विरोध जनाएका छन् ।
दमकको आकाशे पुल मुनि लामबद्ध भएर उनीहरुले मौन प्रदर्शन गरेका छन् । उनीहरुले एमसीसीको बारेमा पढेर नै विरोध गर्न आएको उल्लेख समेत गरेका छन् । एक प्लेकार्डमा लेखिएको छ, हामी चाँही पढेर एमसीसीको विरोध गर्न आएको । त्यस्तै गरे सबैले सार्थक पहल, बन्छ आफ्नै पहलमा महल, नो एससीसी लेखिएको प्लेकार्ड पनि बोकेका उनीहरुले एमसीसीबारे बोल्नै पर्छ भन्दै आम नागरिकलाई खबरदारी पनि गरेका छन् ।
उनीहरुले बोकेको एउटा प्लेकार्डको नाराले यस्तै आशय बोकेको छ । जहाँ लेखिएको छ, एमसीसी बारे बोल्नै पर्छ साँचो कुरा खोल्नै पर्छ । उनीहरुले एमसीसी सम्झौतालाई राष्ट्रघातीको संज्ञा पनि दिएका छन् । र प्लेकार्डमा लेखेका छन् , हामीलाई एमसीसी चाहिदैन लागु गर्न पाहिदैन, राष्ट्रघाती सम्झौता गर्न पाहिदैन् ।
त्यस्तै अन्य नारामा गरे सबैले सार्थक पहल, बन्छ आफ्नै पहलमा महल नो एमसीसी, अब चाँहि फसिन्न एमसीसी भित्र बसिन्न, विकास विरोधी होईनौ तर स्वाधिनता बेच्न चाहादैनौ । एक प्रदर्शनकारीले सवाल नेपालसँगको कुराकानीमा आँफूहरु विकास विरोधी नभएको तर राष्ट्रघाती सम्झौता मान्य नहुने भएकाले यसको विरोधमा मात्र आएको प्रतिक्रिया दिए । पछिल्लो क्रममा एमसीसीको विरुद्धमा देशभरी नै विरोध प्रदर्शन हुँदै आएको छ ।










