काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले आफूलाई प्रधानमन्त्रीबाट हटाउन खोजेको दाबी गर्नु भएको छ । स्व. जननेता मदन भण्डारीको ६९ औं जन्मजयन्तीको अवसरमा मदन भण्डारी फाउण्डेसनले आज बालुवाटारमा गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले यस्तो बताउनु भएको हो । उहाँले भन्नु भयो त्यो खेलमा नेपालका नेताहरू पनि लागेका छन्।

लिम्पियाधुरा, लिपुलेकलाई समेटेर नेपालको नयाँ नक्सा जारी गरेकै कारण आँफूलाई हटाउन खोजिएको पनि वहाँले स्पष्ट पार्नु भयो । प्रधानमन्त्री ओलीले भन्नु भयो, "तपाईंहरूले पनि सुन्नु भएको होला, हप्ता १५ दिनमा प्रधानमन्त्री परिर्वतन हुँदैछ, भारतका मिडिया सुन्नु भएको होला । भारतका बौद्धिक बहसहरू सुन्नु भएको होला । कसरी भारतको राज्य संयन्त्र सक्रिय छ ।" वहाँले थप्नु भयो, यहाँका होटलहरूमा भइरहेका गतिविधिले पनि देखाइरहेको छ । दूतावासको सक्रियताले पनि देखाउँछ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

आफू अघिल्लो पटक प्रधानमन्त्री भएको बेला पनि चीनसँग व्यापार तथा पारवाहन सन्धि गरेलगतै हटाइएको पनि ओलीले स्मरण गराउदै अहिले नेपालले आफ्नो जमिन फिर्ता ल्याउन खोज्दा फेरि आफूलाई हटाउन खोजिएको बताउनु भयो । वहाँले अहिलेको अहिल्यै केपी ओलीलाई नहटाई हुँदैन भन्ने बहस चलेको पनि बताउनु भयो ।

तर नेपालको नक्सा छापेबापत प्रधानमन्त्रीलाई हटाउने सपना पूरा नहुने वहाँले दावी समेत गर्नु भयो । प्रधानमन्त्री ओलीले भन्नु भयो, नेपालको आजको रााष्ट्रियता यति कमजोर छैन, कसैले नसोचे पनि हुन्छ ,कसैले हतारो नगरे हुन्छ । प्रधानमन्त्री ओलीले आफूलाई पदमा बसिरहन मन नभएको तर यतिबेला आफू हटे भोलिबाट नेपालको पक्षमा बोल्ने आँट कसैले नगर्ने भन्दै वहाँले भन्नु भयो, "मैले आजका लागि होइन, भोलिका लागि । आफ्ना लागि होइन, देशका लागि सोचेको छु ।"

प्रधानमन्त्रीको भनाईबाट नेपाली राष्ट्रिय राजनीतिमा अझै पनि भारतको दादागिरी कायमै रहेको प्रष्ट हुन्छ । तर प्रधानमन्त्री ओलीले फेरी एकपटक राष्ट्रियताको विषयमा लिएको यो निर्णयले उनलाई नेपाली जनताले फेरी एक राष्ट्रवादी नेताका रुपमा चित्रित गर्ने छन् । जुन उनले नाकाबन्दीको बेला देखाएकोे राष्ट्रवादका कारण आज कम्युनिष्ट सरकार बन्न सफल भएको छ ।