काठमाण्डौं। सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको स्थायी समितिको चौथो दिनको बैठक सुरु भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली पनि उपस्थित हुनु भएको छ ।
यसअघि शुक्रबारको बैठकमा वहाँ उपस्थित हुनु भएको थिएन् भने शनिबारको बैठकमा पनि केहीबेर मात्र बस्नु भएको थियो । आजको बैठकमा वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपालले धारणा राख्ने कार्यक्रम रहेको छ ।
बुधबारदेखि सुरु भएको बैठक बिहीबार स्थगित गरेर शुक्रबार र शनिबार बसेको थियो। त्यसपछि आइतबार र सोमबार दुई दिन स्थगित गरेर बैठक फेरि आज बसेको हो।
स्थायी समितिको बैठकमा सरकार, एमसीसी, सीमा लगायत ७ बुँदे एजेण्डामा छलफल तय भएको छ । सीमाका विषयमा स्थायी समितिका सदस्यहरुले आफ्ना धारणा राखिसकेका छन्।
आजको बैठकमा सोही विषयमा बोल्न बाँकी रहेका वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल, सचिवालयका सदस्य रामबहादुर थापा, ईश्वर पोखरेल तथा महासचिव विष्णु पौडेलले आफ्ना धारणा राख्ने बताइएको छ।










