जनकपुरधाम। प्रदेश २ सरकारले देशकै नमुना विधेयक ल्याउने संकेत गरेको छ । उसले प्रदेशमा हड्ताल गर्ने, गराउने तथा सहयोगीलाई कैद र जरिवाना गर्ने विधेयक प्रदेश सभामा पेश गरेको छ । प्रदेश २ को सत्तारुढ दल जनता समाजवादी पार्टी जसपा सडक आन्दोलनमा रहेका बेला प्रदेश सरकारले आवश्यक सेवामा हड्ताल गर्ने, गराउने र सहयोगीलाई कैद तथा जरिवाना हुने विधेयक प्रदेश सभामा छलफलमा लगेको छ ।
प्रदेश सभामा पेश भएको सो विधेयकअनुसार अति आवश्यक सेवामा हड्ताल गर्ने वा त्यसमा भाग लिने व्यक्तिलाई ६ महिनासम्म कैद र २ हजार जरिवाना वा दुवै सजाय हुन सक्ने व्यवस्था गरिएको छ ।
हड्ताल दुरुत्साहन गर्नेलाई ३ महिनासम्म कैद वा १ हजार जरिवाना वा दुबै सजाय हुन सक्ने विधेयकमा जनाइएको छ । विधेयकमा हड्ताललाई सहयोग पुग्ने गरी चन्दा दिनेलाई पनि कैद र जरिवाना तोकिएको छ । हड्ताल गर्न नगदी सहायता दिनेलाई ३ महिनासम्म कैद वा १ हजार रुपैयाँ जरिवाना अथवा दुबै गर्न सकिने उल्लेख छ ।
जनसमुदायको सामान्य जीवन स्थितिमा खलल नपार्नको लागि आवश्यक सेवाहरुको सञ्चालन निरन्तर कायम राख्न आवश्यक एवं उचित व्यवस्था गर्नका निम्ति प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले प्रदेश सभामा विधेयक लगेपनि यसप्रति सत्तारुढ दलका सभासदहरुले समेत असहमति जनाएका छन् ।
देश सरकारले बनाउन लागेको ऐन विपरित सत्तारुढ दल जसपाले नै आन्दोलनको तयारी गरिरहेको छ । संविधान संशोधन सम्म पुग्न जसपाले हाल नागरिकता विधेयक बिरुद्ध आन्दोलन चर्काउन थालेकोछ । तर प्रदेश सभाले सो विधेयक पारित गरे कयौं सभासद आन्दोलनमा उत्रेपछि थुनामा जानुपर्ने हुन्छ ।
विधेयकको सैद्वान्तिक छलफलमा बोल्दै सांसदहरुले यस्तो कानूनले आन्दोलन गर्न समस्या हुने बताएका छन भने कतिपय सांसदले जनतालाई उत्तरदायी बनाउन लागिएको भन्दै प्रशंसा समेत गरेका छन् ।










