काठमाडौंको मेयरको उम्मेदवारको रुपमा चर्चामा रहे पनि अन्तिम समयमा मेयरको टिकट पाएनन्, एमालेका नेता एवं काठमाडौंका पूर्वमेयर केशव स्थापितले । पूर्वअनुमानहरु विपरीत उनी यसपटक पार्टीका आधिकारिक उम्मेदवार विद्यासुन्दर शाक्यलाई जिताउन लागिपरे । काठमाडौं महानगरपालिकाको प्रारम्भिक चुनावी प्रतिक्रिया उनले यसरी दिएः
काठमाडौंको मेयरमा एमालेको लगातार अग्रता छ, एमालेले जित्छ त ?
हामी चानचुन १७ हजार मत अन्तरले जित्छौं ।
कसरी ?
अहिले गणना भइरहेको सबैजसो वडामा एमालेले लिड गरेको छ । पञ्चायतकालदेखि नै हामीले नजितेको १ नम्बर वडामा एमालेले जित्यो । सामाखुसी र बागबजारमा अलि टक्कर देखियो । नत्र सबैतिर एमालेको राम्रो देखिएको छ । ३२ वटामध्ये एमालेले २६ वटा जति वडा जित्न सक्छ ।
एमालेप्रति किन यत्रो जनविश्वास देखियो ?
जनतालाई एमालेले काम गर्छ भन्ने परेको छ । मैले मेयर हुँदा पनि राम्रै काम गरेँ । देशको स्वाधिनताको विषयमा हाम्रो पार्टीले लिएको नीति, पार्टीको दृष्टिकोण पनि मुख्य कारण हो । नाकाबन्दीको बेलामा एमालेले खेलेको भूमिका पनि अहिले अभिव्यक्त भएको छ ।
तालमेलले गर्दा एमालेलाई फाइदा पुगेको हो कि ?
तालमेलको कुनै अर्थ देखिएन । तालमेल नगरेको भए उचित हुन्थ्यो जस्तो देखियो । तर, पार्टीले गरेको कुरा मान्नै पर्यो । तालमेल नगरेको भए हामीले मेयर, उपमेयर दुबै जित्थ्यौं । तालमेल गरेको के अर्थ ? जनताले उपमेयरमा पनि धमाधम सूर्यमा भोट हालेका छन् । ललितपुरमा पनि त्यस्तै देखिएको छ । जनताले तालमेल अस्वीकार गरिदिए ।
रञ्जु दर्शना र किशोर थापाले पनि टन्नै भोट ल्याएका छन् नि ?
जनता जहिले पनि संस्थापनको विपक्षमा हुन्छन् । त्यसैले स्थापित पार्टीलाई जनताको यो दबाब हो । तर, विवेकशील र साझा पार्टीहरु बिलाउँछन् । आउँछन्, विलाउँछन् मात्रै । युद्दमा एमाले र काँग्रेसमात्रै छन्, यी दुईको मात्रै चर्चा गरौं, वरिपरी बसेकाको के चर्चा गर्ने ?
प्रस्तुतिः दैनिक नेपाल



