काठमाडौं। सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपा फुटको नजिक पुगेपछि विभाजन रोक्ने पहलहरु शुरु भएको छ । यो प्रयास स्वरुप दुई अध्यक्ष केपी ओली र पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको वार्तामा महासचिव बिष्णु पौडेल र स्थायी समिति सदस्य जनार्दन शर्मा पनि सहभागी हुनुहुन्छ ।

यसअघि दुई नेताबीच विवाद हुँदा पनि शक्ति साझेदारी गर्ने गरी सहमति गर्दा पौडेल र शर्मा साक्षी रहेकाले यस पटक पनि उहाँहरुलाई वार्तामा राखिएको बताइएको छ । पछिल्लो समय प्रधानमन्त्री ओलीले नयाँ नक्शा जारीगरेपछि भारतले आफूलाई हटाउन खोजेको र त्यसमा पार्टीका नेताहरु नै संलग्न रहेको प्रमाण आफूसँग रहेको बताएपछि ओलीबाहेकका अरु शीर्ष नेता एकातिर उभिएका छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उनीहरुले ओलीका कारण सरकार र पार्टी दुबै चल्न नसकेको, कूटनीतिक सम्बन्धमा असर पारिएको लगायतका आरोप लगाउँदै प्रधानमन्त्री र अध्यक्ष दुबै पद त्याग्न दबाब बढाएका छन् । ओलीको राजीनामा बाहेक अरु विषयमा सहमति हुन नसक्ने पक्षमा दाहाल र माधव नेपाल पक्ष रहेका बेला दुई नेताबीचमा सहमति गराई समाधन खोज्ने प्रयास गरिएको हो ।

जारी स्थायी कमिटी बैठकमा अधिकांश नेताले आफ्नो चर्को आलोचना गर्दै राजीनामा मागेपछि रुष्ट हुनुभएका प्रधानमन्त्री ओलीले बिना सल्लाह संसद बैठक अन्त्य गरिदिनुभएको छ ।