दमक। प्रधानमन्त्री केपी ओलीको पक्षमा देशभर नै प्रदर्शन भइरहेको बेला झापाको दमकमा पनि प्रदर्शन भएको छ । प्रधानमन्त्रीको गृह नगरमा सरकार ढाल्न लागिएको भन्दै ओलीको पक्षमा कार्यक्रम गरिएको हो ।

प्रधानमन्त्री ओलीको पक्षमा स्वतन्त्र युवा समुहले आयोजना गरेको विरोध कार्यक्रममा युवा संघ झापाका अध्यक्ष शम्भु भण्डारी र नेपाल जेसिजका पूर्व राष्ट्रिय अध्यक्ष प्रकास राज अधिकारीले सम्बोधन गर्नु भएको थियो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

भण्डारीले राष्ट्रको पक्षमा बोल्दा कार्वाही हुन्छ भने आँफू भोग्न तयार रहेको भन्दै पार्टी एकता पछिको नेकपा पहिलेको एमाले जस्तै भएको हेर्न चाहेको उल्लेख गर्नु भयो । वहाँले पहिले केपी ओलीले दुई पाइलटले पार्टी हाक्ने भन्नु भएको थियो भन्दै अर्का पाइलट ट्याक्टर ड्राइभर रहेछन कि क्या हो ? भन्दै प्रश्न समेत गर्नु भएको थियो ।

त्यस्तै अधिकारीले राष्ट्र विखण्डनतर्फ गैरहेको भन्दै जनताले देखेको सपना पुरा हुदैन कि भन्ने लागेको बताउनु भयो । वहाँले आँफूले सरकारले गरेका सकारात्मक कामको समर्थन र नकारात्मक कामको विरोध गर्ने भन्दै राष्ट्रियताको पक्षमा आँफूपनि रहेको बताउनु भयो ।

कार्यक्रममा प्रदर्शनकारीहरुले बोकेका प्लेकार्डमा आजलाई होईन भोलिलाई ५ वर्ष ओलीलाई, भारतीय विस्तारवाद मुर्दावाद, अस्थिरता चाहानेहरु होशियार लगायतका नारा लेखिएका थिए । कार्यक्रममा नेकपाका नेता कार्यकर्ता तथा अन्य संघ संस्थामा आबद्ध करिब एक सय को उपस्थिति रहेको थियो ।