काडमाडौं। एभिन्यूज टेलिभिजनका कर्मचारीले बर्षौदेखि काम गरेको पारिश्रमिक नपाएको भन्दै पत्रकार महासंघमा ज्ञापनपत्र बुझाएका छन । मंगलबार विहान भृकुटीमण्डपमा रहेको पत्रकार महासंघको काठमाडौं शाखामा पुगेर उनीहरुले ध्यानाकर्षण पत्र बुझाएका हुन ।
महासंघले ध्यानाकर्षण पश्चात सोधपुछ थालेपछि एभिन्युज टेलिभिजनले आन्दोलित कर्मचारीमाथि दबाब दिन थालेको छ । यसअघि नै एभिन्युजबाट अलग्गिएकाहरुले आन्दोलन चर्काएपछि अहिले कार्यरत पत्रकार तथा कर्मचारीले पनि आन्दोलन गर्न थालेका छन ।
आन्दोलनमा ऐक्यवद्धता जनाउनेलाई एभिन्युज व्यवस्थापनले नाम फिर्ता लिन दबाब दिदै आएको छ । विगतमा पनि एभिन्युजले पारिश्रमिक नदिएको गुनासो छ । जिल्ला संवाददाता रहेका पत्रकारले पनि पारिश्रमिक नपाएको गुनासो छ ।
७ बर्षदेखि एभिन्युजबाट पारिश्रमिक नपाएको जिल्ला तथा प्रदेश ब्युरोका केही पत्रकारहरुको गुनासो छ । केही पत्रकार तथा कर्मचारीलाई थोरै पैसा दिएपनि अरु धेरैलाई पारिश्रमिक नै नदिने गरेको एभिन्युजप्रति गुनासो छ ।
यसपटक काम गरिरहेका र केही समय देखि तलब नपाएर छाडेका १५ जना भन्दा बढी पत्रकारले एकसाथ पारिश्रमिकका लागि महासंघमै पुगेर उजुरी गरेका हुन । अबको एक हप्ताभित्रका पारिश्रमिक लिन बाँकी कर्मचारीलाई भुक्तान नदिए कडा आन्दोलन गर्ने उनीहरुको चेतावनी छ ।










