दमक। झापाको दमक स्थित सरस्वती माविमा नेपाल विद्यार्थी संघको एक समुहले तालाबन्दी गरेको छ । नेविसंघ झापाले प्रधानाध्यापकको कार्यकक्षमा आज तालाबन्दी गरेको हो ।

संघका जिल्ला उपसभापति भवानी काफ्लेको नेतृत्वमा गएको करिब ३५ जनाको टोलिले तालाबन्दी गरेको काफ्लेले बताउनु भयो । तालाबन्दी गर्नुअघि कार्यकक्षमा रहेका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समिन रिजाल, निमित्त प्रधानाध्यापक नरबहादुर थापा लगायत कार्यकक्षमा रहेका अन्य शिक्षक सहित सबैलाई निकालेर तालाबन्दी गरेको पनि उपसभापति काफ्लेले सवाल नेपाललाई जानकारी दिनुभयो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

विद्यालयमा प्रधानाध्यापक गणेशकुमार पौडेलले राजीनामा दिएपछि रिक्त रहेको ठाउँमा राजनीतिकरण गर्दै निमित्त प्रधानाध्यापक तोकिएको भन्दै नेविसंघले विरोध गर्दै आएको थियो । उसले शिक्षा ऐन २०२८ तथा शिक्षा नियमावली २०५९ को परिच्छेद १७ को नियम ९३ को उपनियम १२ बमोजिम विद्यालयमा कार्यरत ज्येष्ठ शिक्षकलाई प्रअको जिम्मेवारी दिनुपर्नेमा सो व्यवस्थालाई कुल्चिदैं व्यवस्थापन समितिले नरबहादुर थापालाई निमित्त प्रअको जिम्मेवारी दिएको भन्दै असन्तुष्टि समेत जनाएको थियो ।

हिजो मात्र नेपाली कांग्रेस नगर समितिले सो बिषय लगायत समग्र शैक्षिक सरोकारका बिषयमा ध्यानाकर्षण गराउँदै नगरपालिकामा ज्ञापन पत्र समेत बुझाएको थियो । सो बिषयमा नगर शिक्षा समितिले सुनुवाई नगरेका कारण बाध्य भएर आफूहरुले तालाबन्दी गर्नुपरेको नेविसंघ झापाका उपसभापति काफ्लेले बताउनु भयो ।

तालाबन्दीका क्रममा उपसभापति काफ्लेसहित कोषाध्यक्ष नवराज ढकाल, जिल्ला सदस्यहरु सहदेव भट्टराई, नवराज न्यौपाने, धिरज श्रेष्ठ, मणि लिम्बु, आशिष लिम्बु, , दमक क्याम्पस इकाई सभापति द्रोण दाहाल लगायतको उपस्थिति रहेको थियो । नेविसंघ झापाले विद्यालयको प्रअ नियुक्तीका विषयमा प्रेस विज्ञप्ती निकालेर विरोध समेत जनाएको छ ।

नेविसंघका जिल्ला सभापति राजेन्द्र उप्रेतिले हस्ताक्षर गरेको सो विज्ञप्तीमा तालाबन्दीले पर्न जाने सम्पूर्ण असरको जिम्मा विद्यालय व्यवस्थापन समितिले लिनुपर्ने पनि उल्लेख गरेको छ ।