‘हाम्रो कानूनमा एसिड आक्रमण गर्नेलाई पाँचदेखि आठ वर्षसम्म सजाय हुने व्यवस्था छ । आठ वर्ष सजाय भयो भने पनि रातदिन गिन्ती गरेर चार वर्षमै ऊ निस्किन्छ । उनीहरू पीडा के हो भन्ने बुझ्दै बुझ्दैनन् । हाम्रो यो दाग छ (हातले अनुहारतिर इसारा गर्दै) नि, यो कहिल्यै जाँदैन, जीवनभरका लागि बस्छ । त्यही भएर म भन्न चाहन्छु कि अपराधीलाई जन्मकैद हुनुपर्छ,’ १४ वर्षको उमेरमा एसिड आक्रमणमा परेकी मुस्कान खातुनले सांसदहरूलाई गरेको आग्रह हो यो ।

कानुनी छिद्रका कारण आक्रमणकारीलाई पूरा सजाय नहुने गरेको खातुनको भनाइ थियो । आफूमाथि एसिड छ्याप्ने अपराधी अहिले खुलेआम घुमिरहेको भन्दै उनले प्रतिनिधिसभा महिला तथा सामाजिक समितिमा रहेका सांसदहरूलाई भनिन्, ‘ममाथि एसिड छ्याप्ने अपराधी ३/४ महिनामै बाहिर निस्किएको छ । उनीहरू त्यसरी घुम्न नपाउनुपर्ने हो ।’ खातुनमाथि गत भदौ २० मा विद्यालय जाने क्रममा एसिड आक्रमण भएको थियो ।

अर्की पीडित जेनी खड्काले ‘एसिड छ्याप्नेलाई एसिड नै प्रहार गर्ने कानून बनाउनुपर्ने’ माग गरिन् । कानून बलियो नभएकाले महिनैपिच्छे एसिड आक्रमणबाट महिलाहरू पीडित भइरहेको अर्की पीडित संगीता थापामगरले गुनासो गरिन् ।

त्यसपछि बोलेका नेकपाका सांसद खेमप्रसाद लोहनीले ‘एक लिटर एसिड आक्रमण गर्नेलाई दुई लिटर एसिड प्रहार गर्नुपर्ने’ बताए । सांसद कृष्णकुमार राईले एसिड आक्रमण गर्नेलाई आजीवन कारावासको व्यवस्था गर्न ‘लबिइङ’ गर्नुपर्ने बताए । नेपाली कांग्रेसकी सांसद लक्ष्मी परियारले पीडितको जीवनयापनका लागि सरकारले सहयोग गर्नुपर्ने धारणा राखिन् । अन्य सांसदले पनि कडा कानूनको व्यवस्था नभएकाले यस्ता घटना बढिरहेकोमा सहमति जनाएका थिए ।

समितिले एसिड पीडितलाई सरकारी सेवामा प्राथमिकता दिएर उनीहरुको जीविकोपार्जनका लागि सहज वातावरण बनाउन निर्देशन दिएको छ । एसिड पीडित अधिकांश महिला भएको र त्यसमा पनि १४ वर्षदेखि २५ वर्षसम्मका बढी भएकाले उनीहरूको जिविकोपार्जनको लागि सरकारले जिम्मेवारी लिनुपर्ने भएकाले उक्त निर्देशन दिइएको समिति सभापति निरु पालले बताइन् । कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय