(पार्थ मण्डल) भद्रपुर । आजदेखि झापाको भद्रपुरस्थित मेची प्रादेशिक अस्पतालमा कोरोना भाइरस (कोभिड–१९) को पिसीआर परीक्षण सुरु भएको छ । समुदाय स्तरमा कोरोना भाइरसको संक्रमण देखा पर्न थालेपछि सङ्घीय तथा प्रदेश सरकारको सहयोगमा मेची प्रादेशिक अस्पतालमा पिसीआर परीक्षण सुरु गरिएको हो ।

अस्पतालको पूरानै भवनको माथिल्लो तलामा स्थापना गरिएको पिसीआर ल्याबको बुधवार एक कार्यक्रमका बिच सङ्घीय सांसद तथा अन्तर्राष्ट्रिय समन्वय समितिका सभापति पवित्रा निरौला (खरेल) र प्रदेश १ का सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

स्विस सरकारले उपलब्ध गराएको अत्याधुनिक पिसीआर मेसिन प्रदेश नम्बर १ सरकारले मेची अस्पताललाई हस्तान्तरण गरेका थिए । ढिलै भए पनि सरकारले झापासहित इलाम, पाँचथर र ताप्लेजुङवासीको सेवा सुविधालाई मध्यनजर गरी झापा जिल्लामै कोरोनाको परीक्षणका लागि सहज वातावरण बनाइदिएकोमा उद्घाटन कार्यक्रममा सहभागीहरूले खुसी व्यक्त गरेका छन् ।

कोरोना भाइरसको महामारी देशभर फैलिरहेको अवस्थामा आम मानिसले पनि पिसीआर परीक्षण गर्नुपर्ने आवश्यकता रहेकोमा मेची प्रादेशिक अस्पतालमै सबैको सहयोगमा पिसीआर ल्याब स्थापना भएको सङ्घीय सांसद तथा अन्तर्राष्ट्रिय समन्वय समितिका सभापति पवित्रा निरौला (खरेल) बताइन् । ‘छिमेकी राष्ट्र भारतबाट फर्किएका व्यक्तिहरूमा बढी कोरोना भाइरसको संक्रमण देखा परेको छ,’ उनले भनिन्, ‘झापा भारतसँग जोडिएको जिल्लामा पर्छ, यहाँ स्वाब सङ्कलन गरिएकाहरूको पिसीआर परीक्षण गर्न विराटनगर र धरान पठाउनु पर्ने बाध्यता थियो, अब त्यो समस्या पनि आजदेखि अन्त्य भएको छ, यो हामी झापावासीका लागि खुसीको कुरा हो ।’

त्यस्तै यस मेचीमा पिसीआर ल्याब सञ्चालनमा आएकोले साबिक मेची अञ्चलका चार जिल्लावासीलाई प्रत्यक्ष फाइदा पुग्ने र कोरोना भाइरसका सङ्क्रमणका बिरामी छिटो भन्दा छिटो पहिचान गरी उपचार गराउन सहज बनाउने सङ्घीय तथा प्रदेश सरकारको योजना सफल भएको प्रदेश १ का सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरले बताइन् ।

मेचीमा पिसीआर ल्याब सञ्चालनमा आइसकेको खुसी व्यक्त गर्दै उनले भनिन् अब आगामी दिनमा कोरोना भाइरसको महामारीबाट आम जनतालाई जोगाउन प्रदेश सरकारले मेची अस्पताललाई आवश्यकता अनुसार थप सेवा सुविधा दिँदै जाने उनले बताइन् ।

चार दिनअघि जडान गरिएको पिसीआर ल्याबमा नमुना परीक्षणको काम सकिसकेपछि ल्याब सञ्चालनमा आएको हो । जिल्लामै कोरोना पुष्टि भएका व्यक्तिलाई अस्पतालकै आइसोलेसन वार्डमा उपचाररत रहेको र त्यही मध्येबाट पाँच जनाको स्वाब पुनः परीक्षण गरी ल्याबबाट सेवा सुचारु गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. पीताम्बर ठाकुरले बताए ।

उनका अनुसार अस्पतालको पिसीआर ल्याबमा गरिने कोरोना परीक्षणको रिपोर्ट सही हो वा होइन भनेर क्रस चेक जाँचका लागि एक/दुई दिन विराटनगर ल्याबमा पठाइनेछ । रिपोर्ट एउटै आएको प्रमाणित भएपछि जिल्लामा सङ्कलित स्वाब पिसीआर परीक्षणका लागि यसै अस्पतालमा गरिने उहाँले बताउनुभयो । मेचीमा जडान गरिएको पिसीआर मेसिन अत्याधुनिक खालको भएको र यसले एक पटकमा ९० वटासम्मको स्वाब परीक्षण गर्न सकिने छ । यसका लागि तालिम प्राप्त तीन जना ल्याब टेक्निसियन खटाइएको छ ।

मेची प्रादेशिक अस्पताल सञ्चालक तथा व्यवस्थापन समितिका अध्यक्ष सोमनाथ पोर्तेलको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा सङ्घीय सांसद विमला विक, प्रदेश सांसदहरू ओमप्रकाश सरावगी, झलकसिंह दर्लामी, कमल गाउँपालिकाका अध्यक्ष मेनुका काफ्ले लगायतले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय