दमक। झापाको गौरादह नगरपालिकाका ५ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै गौरादह नगरपालिकाले ३ ओटा वडा पूर्ण रुपमा सिल गरेको छ । नगरपालिकाले अर्को सूचना जारी नभए सम्मका लागि आज राती १२ बजेबाट लागूहुनेगरि ती वडा सिल गरेको जनाएको छ ।
नगर प्रमुख रोहितकुमार शाहको अध्यक्षतामा बसेको सर्वपक्षिय भेलाले यस्तो निर्णय गरेको हो । सिल गरिएका वडाहरुमा वडा नम्बर ६,७ र ८ छन् । त्यस्तै भेलाले वडा नम्बर ३ र ५ को केही क्षेत्रमा पनि सिल गरेको छ ।

आज गौरादहका संक्रमण पुष्टि हुनेमा सशस्त्र प्रहरी बल इलाममा कार्यरत भइ घर विदामा आएका दुइ जना र साउदी अरबबाट आएका ३ पुरुष छन् । उनीहरु गौरादहका क्वारेन्टाइनमा बस्दै आएका थिए ।
गौरादहबाट एक सय १५ जनाको स्वाब पीसीआर परीक्षणका लागि पठाइएकोमा ५ जनाको रिपोर्ट पोजेटिभ आएको गौरादहका स्वास्थ्य शाखाका संयोजक पर्शुराम भट्टराईले जानकारी दिनुभयो ।



