सरकारको नेतृत्वकर्ता एवं संसदको तेस्रो ठूलो राजनीतिक शक्ति नेकपा माओवादी केन्द्र पहिलो चरणको स्थानीय तहको निर्वाचनबाट पनि तेस्रो स्थानमा रहने पक्कापक्की जस्तो देखिएको छ । तेस्रो स्थानमा कायम रहेपनि माओवादी केन्द्रीय कार्यालय बैठकले नजितालाई अपेक्षाकृत भनेको छ ।
माओवादीबाट अलग्गिएका बावुराम भट्टराईको नयाँ शक्ति र पूर्वपञ्चहरुको पार्टी राप्रपाले पनि स्थानीय निर्वाचनमा तेस्रो बन्ने बताउदै आएका थिए ।पहिलो संविधानसभाको निर्वाचनबाट पहिलो शक्तिको रुपमा उदाएको माओवादी दोस्रो संविधानसभासम्म आइपुग्दा अनपेक्षित रुपमा तेस्रो स्थानमा झर्दा पुष्पकमल दाहाल ‘प्रचण्ड’ जति पीडामा थिए स्थानीय तहको निर्वाचनमा उति चिन्तित छैनन् । बरु उनले माओवादीले चुनाव हारेपनि देशले जितेको भन्दै सार्वजनिक रुपमा प्रसन्नता व्यक्त गरेका छन् ।
शुक्रबार चितवन र आइतवार जनकपुरमा आयोजित एक कार्यक्रममा प्रचण्डले माओवादीकै एजेण्डा कार्यान्वयनमा आएको र देशले नै जितेको भन्दै चुनावी अंकगणितले तात्विक फरक नपर्ने बताएका थिए । प्रचण्ड हरेक कार्यक्रममा चुनावी पीडा पराजयको पीडाको रुपमा नभई विजयी भएको रुपमा प्रस्तुत हुँदै आएका छन् ।
१० वर्षे सशस्त्र जनयुद्ध हुँदै शान्तिप्रक्रियामा आई संसदीय राजनीतिमा समाहित भएको माओवादीले नै संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक समावेशितालगायतका एजेण्डा उठाएको थियो । कांग्रेस—एमालेजस्ता परम्परागत संसदवादी राजनीतिक दलले तीनै एजेण्डा बोकेर हिडेका छन् । सबै एजेण्डा स्थापित गराउँदै गर्दा माओवादीको संसदीय राजनीति र स्थानीय सरकारको अंकगणित भने खुम्चिँदै गएको छ ।
बैशाख ३१ गते सम्पन्न स्थानीय तहको निर्वाचनमा पनि माओवादी तेस्रो शक्तिकै रुपमा स्थापित भयो । माओवादीले जनयुद्दकालमा भन्ने गरेको ‘आधार इलाका’ भनिने ग्रामीण क्षेत्रमा बलियो देखिए पनि सहरी क्षेत्रमा भने माओवादी कमजोर बन्दै गएको स्थानीय तहको चुनावी नतिजाले देखाएको छ । काठमाडौं उपत्यका लगायत शहरी क्षेत्रमा माओवादीको पराजत र कमजोर नतिजाले त्यसैको संकेत गर्छ ।
विगतमा माओवादी जनयुद्धको उद्गमथलो प्रदेश नम्बर ६ मा माओवादीको बहुमत देखिएको छ । त्यही ६ नम्बर प्रदेशका पहाडी इलाका जनयुद्धकालमा माओवादीको आधार क्षेत्र रहेका थिए । तर तीन नम्बर प्रदेशमा ग्रामीण क्षेत्रमा राम्रै हैसियत भेटाएपनि सहरी क्षेत्रमा माओवादीलाई नराम्ररी धक्का पुगेको छ । शहरी क्षेत्रमा प्राप्त नतिजाले माओवादीलाई सत्तासाफ नै बनाएको छ ।
काठमाडौं उपत्यकाका दुई महानगर काठमाडौं र ललितपुर महानगरपालिकामा माओवादी निकै कमजोर देखिएको छ । काठमाडौं महानगरपालिकामा टुसाउँदै गरेको विवेकशील र साझा पार्टी भन्दा पनि माओवादी निकै कमजोर देखिएको छ । ललितपुरमा पनि अवस्था उस्तै छ अर्थात साझा पार्टीका उम्मेदवार समेतले पछि पार्दै माओवादी चौथो स्थानमा देखिएको छ ।
चितवनको भरतपुरमा भने माओवादीको दोस्रो स्थानमा देखिएको छ, कांग्रेससंगको तालमेलका कारण । प्रचण्डको गृहजिल्ला समेत रहेको चितवनमा कांग्रेससँग गठबन्धन बनाएर माओवादी चुनाव लडेको थियो । कांग्रेससँग मिल्दा समेत माओवादी दोस्रो स्थानमा देखिँदा त्यहाँ पनि माओवादीको उपस्थिति सन्तोषजनक नरहेको विश्लेषण गर्न सकिन्छ ।
कुनैवेला माओवादीले चुनाव जितेको पोखरामा पनि अवस्था उस्तै देखिएको छ । कांग्रेसँगको गठबन्धनमा माओवादीले उपमेयर पाउँदा पनि अवस्था दयनीय देखिएको हो । यसरी हेर्दा माओवादीको सहरी क्षेत्रमा प्रभाव कम देखिएको प्रष्टिन्छ । हुन त सर्वहारा वर्गको नेतृत्वकर्ता भन्न रुचाउने माओवादीलाई विगतदेखि नै सहरी क्षेत्रका एक तप्काले रुचाउँदैनन् जुन स्थानीय तहको निर्वाचनसम्म आइपुग्दा विविध रुपमा थप बढ्यो ।
माओवादी केन्द्रको तर्फबाट काठमाडौं महानगरको मेयरको टिकट लिएर चुनावी मैदानमा रहेका सर्वोत्तम डंगोल सहरी क्षेत्रका मतदातामा एउटा बर्गलाई समेटेर जानेस्वभावले गर्दा आफूहरु सर्वहारा बर्ग छनोटमा नसकेको बताएका छन् ।
काठमाडौंका मतदाताले हिजोका दिनमा नानिमैयाँ दाहाललाई जिताएको प्रशंग ब्याख्या गर्दै उनले माओवादीले गरेका राम्रा कामबारे जनतालाई बुझाउनै नसकेको र माओवादीले गरेका कामलाई राजनीतिको अर्को पक्षले अर्कै ढंगले क्यास गरेको बताउछन् ।
काठमार्डाैंका पुराना माओवादीले कतै न कतै गल्ती गरेको भन्दै त्यसलाई सच्याउँदै अघि बढ्न नसक्नु नै पनि चुनावी परिणाम यस्तो आउनुमा जिम्मेवार रहेको उनले उल्लेख गरेका छन् । नेपाली राजनितीमा भर्खरै पाईला चालेका विवेकशिल र साझा पार्टी भन्दा पनि पछाडी पर्छु जस्तो नलागेको समेत डंगोलले बताएका छन् ।
शान्ति प्रक्रियामा आएपछि माओवादी नेताहरु शहर केन्द्रीत, सुविधा भोगी र गाउँलाई बिर्षेको आरोप उनीहरुका कार्यकर्ताले लगाउदै आएका थिए । माओवादी केन्द्रका नेताहरुले आफ्नो उर्वर क्षेत्रलाई बिर्षदै गएपनि यसपटकको स्थानीय निर्वाचनले माओवादीको धरातललाई थप स्पष्ट गरिदिएको छ । लोडसेडिङ अन्त्य लगायत काम गरेपनि शहरी क्षेत्रका जनताले माओवादीलाई पत्याइदिएनन् ।
माओवादीले यसपटक पाएको नजिता दोस्रो संविधानसभा निर्वाचनको भन्दा सुधारिएको अबस्था हो । दोस्रो संविधानसभामा माओवादीले प्रत्यक्षतर्फ कांग्रेस र एमालेको तुलनामा एक तिहाइ जितेको थियो । स्थानीय निर्वाचनमा कांग्रेस एमाले भन्दा आधा जित्नुलाई माओवादीले अपेक्षाकृत ठानेको छ । लामो समय रिक्त रहेको स्थानीय सरकारमा जनप्रतिनिधि निर्वासचत गराउनु चाहिँ माओवादीको जीत नै हो ।
लोकान्तरबाट










