धनगढी उपमहानगरपालिका–७ बुद्धचोकमा आइतबार राति एक वृद्ध दम्पतीको हत्या भएको छ ।
बुद्धचोकमा रहेको आफ्नै पक्की घरको कोठामा ७२ वर्षीय बद्रीप्रसाद जोशी र ६५ वर्षीया कुन्ता जोशी मृत अवस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वीरबहादुर बुढामगरले बताउनुभयो ।
गएराति नै हत्या भएको अनुमान गरिएको घटनाको सोमबार बिहानमात्रै स्थानीयवासीले खबर गरेपछि प्रहरी घटनास्थल पुगेको थियो । मृतक दुवैको मुखमा घाउ रहेको बुढामगरले बताउनुभयो । दम्पतीको हत्या गरेर शव कोठामा राखी बाहिरबाट ताला लगाइएको थियो ।
घटनामा प्रहरीले एक पुरुष र छ महिलालाई पक्राउ गरी अनुसन्धान थालेको छ । मृतक दम्पतिका छोरा विदेशमा छन् । घरको कारोबारको विषयलाई लिएर हत्या गरिएको हुन सक्ने आशंका प्रहरीको छ ।



