
काठमाडौं । मुलुकमा अब जुनसुकै बेला कर्फ्यू लाग्न सक्ने भएको छ । कोरोना संक्रमण अत्याधिक रुपमा बढ्न थालेपछि मुलुकमा जुनसुकै बेला कर्फ्यू लाग्न सक्ने स्थिति आएको हो । सरकारले कर्फ्यू लगाउने अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिएको छ । सरकारले जोखिमको अवस्था हेरेर निषेधाज्ञादेखि कर्फ्यू लगाउनेसम्मको अधिकार प्रमुख जिल्ला अधिकारीहरुलाई दिएको हो । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कोरोना संक्रमणको जोखिम रहेका क्षेत्रमा निषेधाज्ञा गर्ने र कर्फ्यू लगाउने अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिएको हो ।
सरकारका प्रवक्ता एवं अर्थमन्त्री डा. युवराज खतिवडाले जोखिमको अवस्था विश्लेषण गरी निषेधाज्ञा जारी गर्ने र आवश्यक परे कर्फ्यू लगाउने अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिइएको जानकारी दिनुभएको छ। प्रमुख जिल्ला अधिकारीले जिल्लामा वा जिल्लाका कुनै स्थानमा निषेधाज्ञा जारी गरेको अवस्थामा सम्बन्धित क्षेत्रका सरकारी र सार्वजनिक कार्यालयका निश्चित कर्मचारीलाई कार्यालयमा उपलस्थित गराउने र अन्य कर्मचारीलाई ‘वर्क फ्रम होम’ को व्यवस्थापन सम्बन्धित कार्यालय प्रमुखले गर्नुपर्ने उहाँले बताउनुभयो । सरकारले जारी गरेको निर्देशन, स्वास्थ्य मन्त्रालयले जारी गरेका मापदण्ड पालना गर्न सबैलाई आग्रह गर्दै पालना नगरेको खण्डमा कारबाही गर्न गृहमन्त्रालय र जिल्ला प्रशासन कार्यालयलाई निर्देशन समेत दिएको छ ।
सरकारले सिन्धुपाल्चोक र कालिकोट लगायत देशका विभिन्न ठाउँमा बाढी पहिरोमा परी घाइते भएकाहरुको उपचार खर्च व्यहोर्ने निर्णय पनि गरेको छ । विपदका घटनामा परी मृत्यु भएका परिवारमा एकजनाको मृत्यु भएमा २ लाख र सोही परिवारमा अन्य व्यक्तिको मृत्यु भएमा प्रतिव्यक्ति एक लाखका दरले राहत सहयोग गर्ने निर्णय भएको उहाँले बताउनुभयो ।
विपदबाट घरबहाल नष्ट भएका र खाद्यान्न बाली तथा जग्गा जमिन र पसल व्यवसाय समेत नष्ट भएकाहरुको हकमा प्रति ५ जानाको परिवारलाई १५ हजार रुपैयाँ र ५ जना भन्दा बढीको परिवार भए प्रति परिवार २० हजार रुपैयाँ सहयोग गर्ने निर्णय सरकारले गरेको उहाँले बताउनुभयो । घर पूर्ण रुपमा क्षति भएको र सुरक्षित स्थानमा नयाँ घर निर्माण गर्नुपर्ने अवस्था भएमा प्रतिपरिवार १ लाख रुपैयाँसम्म सहयोग गर्ने निर्णय समेत गरेको छ । घाइतेलाई अस्पतालमा उपचार गराउँदाको लागि लाग्ने खर्च र प्रतिव्यक्ति १ हजार रुपैयाँ बाटो खर्च र यातायात खर्च दिने निर्णय समेत गरेको छ । जनता समाचार बाट साभार