राष्ट्रकवि माधवप्रसाद घिमिरेले आफू बितेपछि मात्रै सार्वजनिक गर्न भनी रेकर्ड गराएको ‘त्यसरी होओस् मरण …’ बोलको श्रव्य सामग्री राससलाई प्राप्त भएको छ ।

मंगलवार साँझ १०१ वर्षका उमेरमा दिवङ्गत राष्ट्रकवि घिमिरेले गीत आफू बितेपछि परिवारले सुन्न र सबै सञ्चारमाध्यमलाई उपलब्ध गराइदिन आग्रह गरी छोरी शान्ति अधिकारीको परिकल्पना र संगीतमा पहिल्यै रेकर्ड गराएका थिए ।

गीतमा कर्ण दासको स्वर छ । घिमिरेका नातिनीज्वाइँ डा. प्रकाश भट्टराईले उक्त बोलको गीतको अडियो सबै सञ्चारमाध्यमलाई उपलब्ध गराइदिन आग्रह गर्दै राससका समाचारदाता प्रकाश सिलवालमार्फत उपलब्ध गराएका हुन् । डा भट्टराईले केही अनलाइनले आफ्नो मात्रै एकाधिकार र स्वामित्व जस्तो अर्थ लाग्ने गरी गीत सार्वजनिक गराएकामा आपत्ति प्रकट गरे ।

राष्ट्रकविको गीत –

‘त्यसरी होओस् मरण
जसरी सुत्छन् तारमा गीतका चारु चरण
हिमालचुली देशमा, दिनको शान्त भेषमा
जसरी गर्छन् विश्राम, सूर्यका स्वर्ण किरण
त्यसरी होओस् मरण ।।

सुन्दर सृष्टि निहारी, सुखैले चिम्लूँ नयन
बिहानीपख रातको, कुसुम पारिजातको
जसरी जान्छ झरेर, भुइँमा विनापवन
त्यसरी होओस् मरण ।।

मुटुमा चोट नपरी, टुटेर जाओस् बन्धन
बादलको सेतो राशमा, दुइटा मूर्ति पासमा
जसरी शिर नुहाई, आफैंंमा हुन्छन् अर्पण
त्यसरी होओस् मरण ।।

अमरापुरी सभामा आफैंंलाई गरूँ वरण
त्यसरी होओस् मरण ।।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय