रुपन्देहीको भैरहवास्थित भीम अस्पतालमा पुगेका कोरोना संक्रमितले समयमै उपचार नपाउँदा मृत्यु भएको छ । रुपन्देहीको गैडहवा गाउँपालिका–३ का ५० वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ । गम्भीर बिरामी पुरुषलाई सोमवार साँझ ५ बजे अस्पताल पुर्‍याइए पनि ४ घण्टासम्म बिरामीलाई भर्ना नलिँदा उपचार नपाएर मृत्यु भएको आफन्तको आरोप छ ।

प्रदेश सरकारले भीम अस्पताललाई कोभिड संंक्रमितको उपचार गर्ने अस्पतालको रूपमा छुट्याएको छ । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी माहादेव पन्थले अस्पतालमा संक्रमितको मृत्यु भएको पुष्टि गरे ।

घर बनाउने काम गर्ने संक्रमित पुरुष घरको छतबाट लडेर टाउकोमा गम्भीर चोट लागेपछि उपचारका लागि भैरहवाको युनिभर्सल मेडिकल कलेजमा गएका थिए । उनको उपचारका लागि कोरोना जाँच गर्दा पोजेटिभ आएको थियो । कोरोना पोजेटिभ आएपछि मेडिकल कलेजले उनलाई कोभिड उपचारका लागि भीम अस्पताल पठाएको थियो ।

पारिवारिक दबाबपछि अस्पतालले राति ९ बजेतिर भर्ना लिए पनि गम्भीर बिरामीको राति १ बजेतिर मृत्यु भएको हो । अस्पतालमा संक्रमितलाई तुरुन्तै भर्ना नलिँदा मृत्यु हुन पुगेको पीडित परिवारका आफन्त बसिउल्लाह मुसलमानले आरोप लगाए ।

उनलाई भदौ ५ गते कोरोना पोजेटिभ देखिएको थियो । अस्पतालमा ५ वटा आईसीयू शय्या सहितको सुविधा भए पनि आईसीयू सञ्चालनका लागि जनशक्ति नभएका कारण आईसीयू सञ्चालनमा आउन सकेको छैन । अस्पतालसँग प्रतिक्रिया लिन खोज्दा सम्पर्क हुन सकेन । लोकान्तर बाट साभार गरिएको

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय