काठमाडौं, ११ भदौं । काठमाडौंबाट निर्वाचित संघीय सांसदहरु सांसद विकास कोष (स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम) को रकम कोभिड अस्पताल निर्माणमा लगाउन तयार भएका छन् ।

तर, यसबारे प्रदेश सरकार र स्थानीय सरकारसँग थप छलफल गरेर निर्णय पुग्ने सोंचमा आफूहरु रहेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की सांसद रामकुमारी झाँक्रीले जानकारी दिएकी छिन् ।

काठमाडौं उपत्यकाभित्र कोरोना संक्रमण ‘भयावह’ बन्दै गएका बेला संक्रमण र रोकथाम तथा नियन्त्रणका प्रयास सम्बन्धमा काठमाडौंबाट निर्वाचित सांसदहरुबीच बुधबार छलफल गरेका छन् ।

छलफलमा सांसद विकास कोषको रकम, विकास आयोजनामा खर्च गर्न सकिने अवस्था नरहेको भन्दै सांसदहरुले कोभिड अस्पताल बनाउनु पर्ने राय राखेका छन् ।

‘सांसद विकास कोषको रकमबाट कोभिड अस्पताल बनाऔं भन्ने भएको छ,’ सांसद झाँक्रीले सुनाइन््, ‘हामी १० जना संघीय सांसद छौं । ४ करोडका दरले ४० करोड हुन्छ । प्रदेश सरकारबाट २० करोड र स्थानीय तहबाट ४० करोड आयो भने एक अर्बमा राम्रो कोभिड अस्पताल बनाउन सकिन्छ ।’

सांसद झाँक्रीले कोरोना रोकथाम तथा नियन्त्रणका लागि रकम खर्च गर्दा अख्तियार लाग्छ कि भन्ने डर स्थानीय तहका जनप्रतिनिधिमा भएको पनि बताएकी छिन् । सोही कारण पर्याप्त मात्रामा क्वारेन्टिन र आइसोलेसन सेन्टरहरुको निर्माण हुन नसकेको उनले बताइन् ।

सांसद विकास कोषको रकमबाट कोभिड अस्पताल बनाउने विषयमा प्रदेश सरकार र स्थानीय तहसँग थप छलफल गरेर जाने सांसदहरुको तयारी छ ।

कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि सरकारले प्रभावकारी काम गर्न नसकेको सांसदहरुले बताएका छन् । काठमाडौं उपत्यकाभित्र कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि भएका प्रयास सम्बन्धमा बुधबार काठमाडौं उपत्यकाका सांसदहरुबीच भएको छलफलमा सांसदहरुले सरकारले प्रभावकारी काम गर्न नसकेको बताएका हुन् ।

उपत्यकाभित्र अहिलेसम्म क्वारेन्टिन निर्माण गर्ने, आइसोलेसन निर्माण गर्ने, आइसीयु बेड र भेन्टिलेटरको संख्या बढाउने कुरामा सरकारले प्रभावकारी काम गर्न नसकेको सांसदहरुले बताएका हुन् ।

नेपाली कांग्रेसका सांसद दिव्यमणि राजभण्डारीले आइसीयु बेड र भेन्टिलेटरको संख्या बढाउन सरकारले चासो नदिएको बताएका छन् । सत्तारुढ नेकपाका सांसद जीवनराम श्रेष्ठले संस्थागत आइसोलेसनको संख्या बढाउनुपर्नेमा जोड दिएका छन् ।
बढी जनघनत्व भएको ठाउँमा होम आइसोलेसनमा राख्दा जोखिम बढ्नेतर्फ सरकारको ध्यान नगएको उनले बताए ।

नेकपाकै सांसद कृष्णबहादुर राईले अहिले पीसीआर परीक्षणका लागि एक साताअघि स्वाब लिइएकोहरुको नतिजा आएको र निषेधाज्ञा जारी भएपछिको आइनसकेको भन्ने बुझिएको बताए । त्यसैले निषेधाज्ञाको प्रभाव कोरोना नियन्त्रणमा कस्तो परेको छ भन्ने अबको दुई–तीन दिनमा मात्रै देखिने उनले बताए ।

नेपाली कांग्रेसका सांसद भीमसेनदास प्रधानले उपत्यकाभित्र कोभिड–१९ को संक्रमणको दर बढ्दै गएको अवस्थामा संघीय सांसदहरुको भूमिका थप प्रभावकारी बनाउने विषयमा जोड दिए । छलफलको संयोजन समेत गरेका सांसद प्रधानले स्थानीय तहलाई सघाउन र सचेतना बढाउने विषयमा काम गर्नुपर्ने आवश्यकता रहेको बताए । नया पेज बाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय