दमक। झापाको शिवसताक्षी नगरपालिकाकी एक महिलाले नगरपालिकाकै आइसोलेसनमा बसेर कोरोना जितेकी छन् । गत ८ गते कोरोना संक्रमण पुष्टि भएपछि शिवसताक्षी नगरपालिकाको आइसोलेसनमा राखिएकी २७ वर्षीया ति महिलाले १० दिनमै कोरोना जितेकी हुन् । कोरोना जितिसकेपछि सवाल नेपालसँगको कुराकानीमा उनले आम्मबल दह्रो भए कोरोना जितिने बताइन् ।
उनले कोरोना संक्रमितहरुलाई नडराउन सुझाब पनि दिएकी छन् । उनले भनिन, कोरोनाबाट डराउनु पर्दैन, मलाई केहि पनि हुँदैन भनेर आत्मबल दह्रो बनाएमा कोरोना जित्न सकिन्छ ।
त्यस्तै शिवसताक्षी नगरपालिकाका फोकल पर्सन रोशन अधिकारीले अन्य ठाउँका आइसोलेसनमा पठाइएका विरामीसँगको कुराकानीले आँफूले संक्रमित महिलालाई शिवसताक्षीकै आइसोलेसनमा राखेको र निको हुनेमा विस्वस्त थिए भन्दै अरुको हौसला र संक्रमितको आत्मबलका कारणले पनि कोरोना जितेको प्रतिक्रिया दिनुभयो ।
अधिकारीका अनुसार उनलाई केहि नेपाली आयुर्वेदिक खानेकुरा भने खुवाइएको थियो । अहिले सम्म शिवसताक्षीका १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये १३ जनाले कोरोना जितिसकेका छन् ।



