दमक। झापाको विर्तामोडका थप २ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रदेश जनस्वासथ्य प्रयोगशाला विराटनगरबाट आज आएको ६५ जनाको पीसीआर परीक्षणको रिपोर्टमा २ जनामा कोरोना संक्रमण देखिएको विर्तामोडका फोकल पर्सन ओम खड्काले सवाल नेपाललाई जानकारी दिनुभयो ।
संक्रमण पुष्टि हुने एक जना पूर्व स्वास्थ्यकर्मी हुन् भने एक जना भारतबाट आएर क्वारेन्टाइनमा बस्दै आएका भएको पनि खड्काले जानकारी दिनुभयो । संक्रमित एक जना वडा नम्बर ४ को ५२ वर्षीया महिला र वडा नम्बर ९ को ३० बर्षीय पुरुष हुन् । उनी भारतबाट आएका हुन् ।
फोकल पर्सन खड्काका अनुसार विर्तामोडबाट अहिले सम्म ३ हजार ९ सय ४६ पीसीआर गरिएको छ । जसमा ३० जनामा कोरोना संक्रमण देखिएको र २२ जनाले कोरोना जितिसकेका छन् ।
उहाँका अनुसार विर्तामोड घर भएका तर अन्यत्र पीसीआर गरेका १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सो सहित विर्तामोडका ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको खड्काले सवाल नेपाललाई जानकारी दिनुभयो । विर्तामोडबाट पठाइएका अन्य एक सय ६० जनाको रिपोर्ट अझै आउन बाँकी रहेको पनि खड्काले जानकारी दिनुभएको छ ।



