काठमाडौं । प्रधानमन्त्री प्रचण्डले राजीनामा दिएसँगै उनको नेतृत्वको सरकार कामचलाउ सरकारमा परिणत हुनेछ । प्रधानमन्त्रीले राजीनामा दिएपछि अब राष्ट्रपतिले सबैभन्दा पहिले विगतको परम्परालाई समेत आधार मान्दै राजनीतिक दलहरूलाई राष्ट्रिय सहमतिको सरकार गठनका लागि आह्वान गर्नैछन् । राष्ट्रपतिले त्यस्तो सरकार गठनका लागि सात दिनको समयसीमा दिई आह्वान गर्नुहुनेछ ।
सहमतिका आधारमा सरकार गठन हुन नसकेमा राष्ट्रपतिले बहुमतीय सरकार गठनको दोस्रो विकल्प प्रयोग गर्नेछिन् । सहमतीय सरकार गठनका लागि दिएको समयावधिमा कसैले पनि सरकार गठन गर्न नसकेमा राष्ट्रपतिले संसद्मा पत्र पठाउँदै बहुमतीय सरकार गठन गर्न पत्र लेख्नेछिन् । त्यसपछि बहुमतीय सरकार गठनको प्रक्रिया सुरु हुनेछ ।
संसद्को नियमावली २०७३ को नियम ४९ अनुसार संसद्ले प्रधानमन्त्री निर्वाचनको प्रक्रिया सुरु गर्नेछ । संविधानको धारा २९८ को उपधारा २ बमोजिम प्रधानमन्त्रीको निर्वाचन राजनीतिक सहमतिका आधारमा हुने, तर सहमति हुन नसकेमा सभामुखले तोकेको दिन र समयमा निर्वाचन प्रक्रियामार्फत बहुमतीय सरकार बन्ने उल्लेख छ ।
बहुमतीय आधारमा हुने निर्वाचन प्रक्रियाका लागि सभामुखले निर्वाचन कार्यतालिका तोक्दै संसद्का महासचिवलाई निर्वाचन अधिकृत तोकी प्रक्रिया अगाडि बढाउने प्रावधान छ । निर्धा्रित समयतालिकामा प्रधानमन्त्रीका उम्मेदवारले आफूलाई प्रधानमन्त्रीमा निर्वा्चित गरियोस् भन्दै एक–एकजना समर्थक–प्रस्तावक राखी उम्मेदवारी दर्ता गर्नुपर्ने हुन्छ ।
त्यसपछि संविधानको धारा २९८ को उपधारा ३ बमोजिम संसद्को तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको बहुमतका आधारमा प्रधानमन्त्री निवार्चित हुने व्यवस्था छ ।



