सुजाता लिम्बु

असोज महिना असोज ६ गतेको दिन हो।

बिहानैदेखि पीडाले छटपटिएकी थिएँ।

आमाले तातो पानी दिँदा दुखाई धेरै भएर होला सबै बमिट भएको महिना। अस्पताल मेरो माईती घरबाट नजिकै भएकाले आफै आमाको

हात समातेर अस्पताल गएको महिना। अर्थात् म दोश्रो पटक आमा बन्ने असोज महिना।

०००००

बिहानको ४ बजे अस्पतालमा भर्ना भएँ। अस्पतालमा सबै चिनजान कै भएकाले पनि होला सजिलो भयो।

मजस्तै पीडा बेहोर्दै आमा बन्ने सपना सजाएका अरु आमाहरु पनि दुखाईले रोईकराई गरिरहेका थिए। सायद पीडा मौनतामा नै

लुकाउनुपर्छ भन्ने मैले सिकेकी थिएँ होला म मौन भएर दुखाई सहँदै बेडमा लडिरहेकी थिएँ।

घरिघरिको पीडाले सास नै रोकिएला झैँ हुन्थ्यो। अब मेरो अन्त्य हुँदै छ, झै लाग्थ्यो।

त्यो समय सबै भन्दा धेरै श्रीमानको साथ र प्रेम चाहाना हुनेरहेछ तर म छिमेकी आन्टिको हात र साथ पाएर दोश्रो पटक आमा बन्ने हिम्मतमा जुटेकी थिएँ।

हरेक आमाका लागि ९ महिनापछिको प्रत्येक सेकेण्ड युद्धको मैदान हुने रहेछ, त्यो युद्धबाट जीवितको प्रमाणपत्र लिएर फर्किने हो या मृत।

घण्टौपछि मैले युद्ध जित्दाका त्यो बिहानको ६ बजेर ४५ मिनेट जाँदाको समय खुसीले आँखा रसाएको समय।

अर्थात छोरी तिमी जन्मिएको असोज महिना।
०००००

सुजाता लिम्बु

जन्मदिनको शुकामना छोरी तिमीलाई।

मलाई थाहा छ यो समय पक्कै तिमीले मलाई मिस गरिरहेकी छौ। तिमीलाई ह्यापी वर्थ डे छोरी भन्न म तड्पिरहेकी छु, अनि तिम्रो मधुर स्वारमा ‘थ्याङक यू मामु।’

यही शब्द सुन्न मेरा कान प्रतीक्षा गरिरहेको छ।

बिहानैदेखि तिमीलाई तिम्रो जन्मदिनको शुभकामना दिन तिम्रो बाबाको मोबाईलमा नम्बर डायल गरेँ रिङ गयो फोन उठेन।

सायद मामुले मेरो जन्मदिन भुल्नुभयो भन्ने तिम्रो मनमा लागेको होला है?

मलाई माफ गर है सानु। प्राविधिक कठिनाईले म तिमीसँग फोन सम्पर्कमा आउन सकिनँ।

हामी भौगोलिक र भौतिकरुपमा टाढा छौँ तर तिमीलाई दिने माया र आर्शिवाद कहिल्यै कमी हुने छैन है।

नसोँच्नु मामुले मलाई जन्माएको आजकै दिन भुल्नुभयो भनेर, म कहाँ भुल्न सक्छु र लाटी तिमी जन्मने समय पीडाले सुत्न नसकेका रातहरु।

तिमी जन्मना साथ तिम्रो पहिलो रुवाइले म हाँसेको त्यो दिन, मृत्युको प्रहर सहेर म बाँचेको त्यो दिन।

तिमी जन्मेपछि आसाका क्यानभासमा भविष्यका चित्र कोरोको आजको त्यो दिन म भुल्न सकँला र?

आफ्ना सन्तान आमाका लागि धड्कन हो, मुटु हो।

तिमीलाई जन्म दिनका लागि सेकेण्ड, सेकेण्ड मृत्युको मुखमा पुग्दै फर्केर तिमीलाई जन्मने वित्तिकै छातीमा टाँसेको त्यो समय कहाँ भुल्न सकुँला र?
००००

छोरी तिमीलाई थाहा छ दिनभरि त साथीभाई काममा व्यस्त हुन्छु। जब साँझ घर फर्किन्छु कोठाहरु रित्ता हुन्छन्। मैले त्यही रित्तोपनाको महशुस नहोस् भन्नका लागि ढोका खाल्ने वित्तिकै तिमीहरुलाई नजिक महशुस गर्न मेरा कोठाको भित्तामा तिमीहरु दिदीबहिनीको तस्विर झुण्ड्याकी छु।

हो आज म तिमीसँग फोनमा कुरा गर्न पाइनँ तिमीलाई जन्म दिनको शुभकामना दिन पाइनँ।

मैले मेरो कोठामा टाँसिएका भित्तका तस्विरलाई हेर्दै ह्यापी वर्थडे कान्छु भने नि!

तिम्रा निर्दोष मनले आमाको न्यानो काखमा जन्मदिन मनाउने चाहाना खोजिरहेका होलान है?

तर कयौँ रहरहरु बाध्यता बनेर आईदिनेरहेछ कयौं बाध्यता रहर बनेर।

सानु, यी रहर र बाध्यताबीच हुर्कँदै गरेको हामी आमाछोरीको सम्बन्धको जरा पक्कै भविष्यमा दरिलो हुनेछ हिम्मत र हौसलालाई कहिल्यै डगमगाउन नदिनु है!

०००००

र, छोरी तिमी एक्लो किन नहोस् सँधै सत्यको पक्षमा उभिनु। हिंसा र अत्याचार कहिल्यै सहेर नबस्नु।

मलाई थाहा छ तिमी मेरो बहादुर र समझदार छोरी हौ। स्वाभिमानी हुनु ईमान्दारिता कहिल्यै नभुल्नु है।

तिम्रो एउटा स्वर्णिम सपना छ नि नेपाली सेनाको अफिसर बन्ने, हो त्यो सपनालाई साकार बनाउनेतर्फ आफ्ना कलिला पाइलाहरु अघि सार्नु ल!

तिम्रो सपनामा तिम्रो मामुको सपना र चाहानाहरु अल्झिएका छन्, त्यसलाई विलीन हुन नदिनु।
हो आज तिमी तिम्रो बाबासँग छौ, कुलको इज्जत थाम्नु।

छोराले मात्रै कुल र वंशको इज्जत थाम्छ भन्ने हाम्रो समाजमा तिमी समाजको उदाहरण बनेर उदाउने छौ भन्ने मेरो विश्वास छ।

आज सोँच्दै छौ होला, मेरो बाबा मामु किन अलगिएका होलान भनेर, किन मामु बाबाबाट टाढा होला भन्ने प्रश्नले तिमीलाई दिनरात पिरोल्छ होला है।

छोरी म सधैँ तिमीलाई भन्ने गर्छु नि हिंसा र अत्याचार सहनु पाप हो।

हिंसा सहनु पनि अपराध हो, म हिंसा सहेर अपराधी हुन चाहिनँ त्यही भएर मैले मेरो जीवन रोजेँ छोरी।

त्यसैले यो अवस्थामा तिमी जस्तौ कयौं छोरीहरुले कि बाबासँग, या मामुसँग मात्रै जन्मदिन मनाउनुपर्ने बाध्यता आइपर्छ यसलाई बाध्यता भन्दा पनि विद्रोह सम्झनु।

म तिम्रो बाबासँग अलगिएर घरेलु हिंसाविरुद्ध विद्रोह गरेकी हुँ।

आफूलाई एक्लो कहिल्यै नसम्झिनु तिमीसँग तिम्री दिदी पनि हुनुहुन्छ र म (तिम्री मामु) तिमीहरु दुईजनाको भविष्य निर्माणका लागि यो अन्जान शहरमा श्रम गर्दैछु।

र, तिमीले भन्ने गर्थ्यौ नि मामु, ‘म आर्मीको ठूलो मान्छे हुन्छु।’

लगनशील भएर मिहेनती भएर लक्ष्यलाई साथमा लिएर अगाडि बढ्नु तिमीलाई लक्ष्य प्राप्तिको शुभकामना।

फेरि पनि ह्यापी बर्थ डे छोरी!

सुजाता लिम्बु मकालु खबरमा कार्यरत पात्रकार हुन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय