काठमाडाैं । यस पटककाे टिका तथा प्रसाद ग्रहण गर्ने शुभसाइत १० बजेर १९ मिनेटमा परेकाे छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार कात्तिक १० गते शनिबार बिहान १० बजेर १९ मिनेटमा उत्तम साइत जुरेकाे हाे ।
कात्तिक १ गते शनिबारदेखि शुरू हुने नेपालीहरूकाे महान चाड वडादशै पन्ध्र दिन विभिन्न शक्ति पिठहरूकाे दर्शन तथा पूजा गरी मनाइने गरिन्छ ।
दुर्गा पक्षसमेत भनिने दशैंको पहिलो दिन वैदिक सनातन धर्मावलम्बीले घरघरमा दियो, कलश र गणेश स्थापना गरी विशेष पूजासहित घटस्थापना गर्छन् । घटस्थापनाको साइत कात्तिक १ गते शनिबार बिहान ११ः४६ बजे शुभ रहेको समितिका अध्यक्ष प्राडा रामचन्द्र गौतमले जानकारी दिनुभयो ।
यस वर्ष घटस्थापनाका दिन चित्रा नक्षत्र परेकाले दोष नाश गर्ने अभिजित् मुहूर्त दिनुपर्दा ११ः४६ बजेको साइत निस्किएको समितिले जनाएको छ । नवरात्र शुरु हुने घटस्थापनाको साइतका लागि लग्न र बेला पनि उपयुक्त दिइएको जनाइएको छ ।
विजयादशमीका दिन घटस्थापना गरिएको घडाको जलले अभिषेक गरी मान्यजनबाट जमरासहित देवीको प्रसाद लगाइन्छ । सामान्य मानिसले भने विजयादशमीका दिन दिनभर टीका ग्रहण गर्न कुनै बाधा नरहेको समितिको निर्णय छ । देशका धेरै स्थानमा विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म मान्यजनबाट टीकासहित आशीर्वाद लिइने परम्परा छ ।
चन्द्रमास अनुसार प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म १५ दिन मनाइने दुर्गा पक्ष अर्थात् वडादशैँ पर्व यस वर्ष अधिकमास अर्थात् मलमासका कारण कात्तिक १ गतेदेखि शुरु हुँदैछ । मलमासका कारण यस वर्षका अब आउने सबै चाडपर्व केही ढिला हुने समितिले जनाएकाे छ ।



