काठमाडौं। कोरोना भाइरस संक्रमणका कारण पछिल्लो पटक गर्भवती महिला सहित थप ३ जनाको मृत्युु भएको छ । चितवनको भरतपुर अस्पतालमा कोरोना संक्रमित एक जना गर्भवतीको मृत्यु भएको छ ।
तनहुँको शुक्लागण्डकी नगरपालिका घर भई हाल मकवानपुरको हेटौंडा–५ बस्ने ३३ वर्षीया महिलाको आज बिहान उपचारको क्रममा मृत्युु भएको हो । उनको अवस्था जटिल भएपछि हिजो भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।
गत असोज ३० गते कोरोना संक्रमण पुष्टि भएकी ती महिलामा श्वासप्रश्वासमा समस्या थियो । उनी ३७ हप्ताको गर्भवती भएको अस्पताल श्रोतले बतायो ।
यस्तै रूपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा थप दुई संक्रमितको मृत्यु भएको हो । मृत्यु हुनेमा अर्घाखाँचीको पाणिनि–७ का ३८ वर्षीय पुरुष र रूपन्देहीको तिलोत्तमा–४ का ८१ वर्षीय पुरुष रहेको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिनुभयो ।



