कोरोना भाइरस संक्रमणका कारण थप २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रुपन्देहीका एक जना र दाङका एक जना छन् । रुपन्देहीको तिलोत्तमा नगरपालिका ७ का ७५ वर्षीय पुरुषको कोरोना अस्पताल बुटवलमा आज बिहान मृत्यु भएको हो ।
कात्तिक ५ गते कोरोना संक्रमण पुष्टि भएपछि सोही दिन अस्पताल भर्ना भएका ती पुरुषको उपचारका क्रममा आज बिहान पौने ८ बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले जानकारी दिनुभयो ।
उता होम आइसोलेसनमा बसेका दाङका एक संक्रमितको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका घोराही–१५ स्थित आफ्नै घरमा बसेका संक्रमित ५३ वर्षीय पुरुषको हिजो मृत्यु भएको कोरोना विशेष अस्पताल बेलझुण्डीले जानकारी दिएको छ ।
मालपोत कार्यालय घोराहीका कर्मचारी ती पुरुषमा गएको कात्तिक ४ गते कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना संक्रमण पुष्टि भएदेखि उनी होम आइसोलेसनमा बस्दै आएका थिए । उपचारका लागि नेपालगन्ज लैजाँदै गर्दा बाटोमै मृत्यु भएको अस्पतालले जनाएको छ ।



