प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चुनौती मोलेर भए पनि आफूले स्थानीय तहको पहिलो चरणको निर्वाचन गराएकै कारण प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पहिलो दल हुन पाएको बताएका छन् ।
व्यवस्थापिका संसदमा राष्ट्रपतिद्वारा सरकारको नीति तथा कार्यक्रममार्फत संवोधन गरिएकोमा संसदको तर्फबाट धन्यवाद दिने प्रस्तावमाथि सांसदद्वारा उठाइएका प्रश्नको जवाफ दिँदै आइतबार प्रधानमन्त्री प्रचण्डले भने ‘नीति तथा कार्यक्रम ल्याउँदा समेत प्रतिपक्षी दलका नेतासँग सल्लाह गरिएकोले यसको बिरोध गर्नुको कुनैं तुक छैन।’
असन्तुष्ट दलको समेत माग पूरा गर्न स्थानीय तहको निर्वाचन दुई चरणमा गर्नुपरेको र दुई निर्वाचनको बीचमा बजेट ल्याउनु पर्ने संवैधानिक प्रावधानलाई बुझेर नीति तथा कार्यक्रममा कुनै पनि नयाँ कार्यक्रम नल्याएको प्रधानमन्त्रीले प्रस्ट्याए ।
उनले भने ‘यो सरकारको जतिसुकै आलोचना गरेपनि धेरै चुनौती मोलेर गराएको निर्वाचनका कारण नैं प्रमुख प्रतिपक्ष दल स्थानीय तहमा पहिलो भएको हो।’ उनले स्थानीय तहको निर्वाचनको परिणामलाई हेरेको भए निर्वाचन सम्भव नभएको बताए ।
‘निर्वाचनको परिणामलाई हेरेको भए मैले पनि चुनाव नगराउन सक्थें’, प्रधानमन्त्री दाहालले भने ‘तर म व्यक्तिगत र दलगत स्वार्थ र अन्य ठूला र पुराना संसदवादी दल भन्दा फरक रहेकै कारण निर्वाचन गराउनु नै राष्ट्र र जनताको हितमा छ भनेर चुनौती लिएको हुँ ।’
चुनावमा पार्टीको अवस्था कस्तो होला भनेर आफूले सोचेको भए चुनाव नहुने ठोकुवा गर्दै प्रधानमन्त्री प्रचण्डले भने ‘मैले नीति तथा कार्यक्रम नयाँ ढंगले ल्याएको भए प्रतिपक्षले सदन चल्न दिँदैन भन्ने मलाई राम्ररी थाहा थियो । संसद चल्न नदिए दोश्रो चरणको निर्वाचन गराउन पनि प्रमुख प्रतिपक्षीले दिँदैन थियो ।’
लोडसेडिङको अन्त्य, प्रतिव्यक्ति आय वृद्धि र आर्थिक बृद्धिदर वृद्धि हुनुको जस आफू एक्लैले लिन नचाहेको भन्दै उपलब्धीको जस आफूलाई नचाहिने उनले बताए ।



