भरतपुर महानगरपालिकाको मतगणनामा माओवादीका कार्यकर्ताले मतपत्र च्यातेपछि तनाव भएको छ ।
मत गणनास्थलमा मेयर पदका उम्मेदवार रेणु दाहालको एजेण्ट बसेका बसेका माओवादीका मधु न्यौपानेले मतपत्र च्यातेका हुन् । न्यौपाने माओवादीको चितवन जिल्लाका वाईसीएल इन्चार्ज हुन् । उनले मतपत्र च्यातेपछि तनाव बढेको थियो ।
न्यौपानेलाई प्रहरीले नियन्त्रणमा लिइसकेपछि मतगणनास्थल भित्रै माओवादीका प्रतिनिधि द्रोण सिवाकोटीले पनि मतपत्र च्यातेका थिए । न्यौपाने र सिवाकोटी दुबैलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
माओवादी कार्यकर्ताले मतपत्र च्यातेपछि अहिले भरतपुर महानरपालिकाको मतगणना स्थगित भएको छ । एमाले र माओवादी(काँग्रेस गठबन्धनका कार्यकर्ताबीच तनाव सिर्जना भएपछि प्रहरीले स्थिति सम्हाल्न लाठीचार्ज समेत गरेको छ । प्रहरीका एसपीले स्थिति भड्किए गोली हान्ने आदेश समेत दिएका छन् ।
अहिले मतपत्र सशस्त्र प्रहरीको घेराबन्दीमा छ । मतगणनास्थलमा बसेका माओवादी केन्द्रका एजेण्टले मतपत्र च्यातेपछि सोको विरोध गर्ने एमाले कार्यकर्ता गंगा लामामाथि पनि प्रहरीले धरपकड गरेको छ । हार्ने भएपछि दुईपटक गरी २५ वटा जति मतपत्र च्यातेको एमालेले जनाएको छ ।



