मतगणनाकै क्रममा मतपत्र च्यातिएपछि भरतपुर महानगरपालिकाको मतगणना स्थागित भएको घटनाप्रति नेकपा एमालेले आफ्नो धारणा सार्वजनिक गरेको छ । नेकपा एमाले चितवनले सोमबार बिहान पत्रकार सम्मेलन गरी छापामार शैलीमा मतपत्र च्यातिएको बताएको छ ।
पत्रकार सम्मेलनमा एमाले चितवन जिल्ला कमिटी अध्यक्ष कृष्णभक्त पोखरेलले छापामार शैलिमा मतपत्र च्यातेर जनताको मताधिकारलाई त्यसरी दुरुपयोग गर्न खोजिएको बताए । साथै उनले तत्काल मतगणना सुरु गुर्नपर्ने बताए ।
भरतपुर महानगरका लागि आफ्नो उम्मेदवार देवी ज्ञवालीको जीत सुनिश्चित हुँदै गएपछि विपक्षीहरुले मतपत्र च्यातेको एमालेले आरोप लगाएको छ । एमालेले मतपत्र च्यातिएको विरोधमा आजै भरतपुरमा विरोध सभा गर्ने जनाएको छ ।
मतपत्र च्यातेपछि आइतबार मध्यरातदेखि भरतपुर महानगरपालिकाको मतगणना स्थगित भएको थियो । मतगणना सुचारु हुने विषय अझै निश्चित हुन सकेको छैन ।
मतपत्र च्यातेको भन्दै प्रहरीले माओवादी केन्द्रका प्रतिनिधि मधु न्यौपाने र द्रोण सिवाकोटी तथा नेकपा एमालेका प्रतिनिधि गंगा लामालाई पक्राउ गरेको छ ।



