यूएन वुमनको नयाँ अन्तर्राष्ट्रिय डाटा अनुसार कोरोनाभाइरस महामारीका कारण लैङ्गिक समानतामा भएका वृद्धि–विकासको मामिलामा २५ वर्ष पछि धकेलिने सम्भावना देखिएको छ ।
महामारी प्रभावका कारण महिला पहिलाको तुलनामा घरको काम र परिवारको रेखदेख बढी नै गरिरहेका छन् ।
यूएन वुमन डिप्युट एक्जिक्यूटिभ अनिता भाटिया भन्छिन्, ‘हामीले पछिल्लो २५ वर्षमा जे जति काम गरेका छौं, त्यो एक वर्षमा गुम्न सक्छ ।’
रोजगार र शिक्षाको अवसर गुम्न सक्छन् । महिला खराब मानसिक र शारीरिक स्वास्थ्यको शिकार हुनसक्छन् ।
अनिता भाटियाका अनुसार यतिबेला महिलामा रेखदेखको जिम्मेवारी बढेको छ । यसले सन् १९५० ताकाको लैङ्गिक रुढीवादी पुनः कायम हुने हो कि भन्ने खतरा पैदा भएको छ ।
महामारी अघि १६ अर्ब घण्टाको बेतलबी काम लगभग तीन चौथाई महिलाले गरिरहेको भनेर अनुमान लगाइएको थियो । यो संसारभरी हरेक दिन हुन्थ्यो ।
दोस्रो शब्दमा भन्ने हो भने कोरोनाभाइरस अघि एक घण्टाको बेतलबी काम पुरुषले र तीन घण्टाको काम महिलाले गर्दै आएका थिए । अब यो आँकडा थप बढेको छ ।
अनिता भाटिया भन्छिन्, ‘यदि महामारी अघि महिलाको बेतलबी काम पुरुषभन्दा तीन गुणा थियो भने मलाई विश्वास छ महिलाको बेतलबी कामको घण्टा अब दोब्बर भएको हुनुपर्छ ।’
यद्यपि, यूएन वुमनको ३८ सर्वेक्षणमा मुख्य रुपमा निम्न र मध्यम आय भएको देशमा ध्यान केन्द्रीत गरिएको छ तर औद्योगिक देशको आँकडाले पनि यही तस्बिर देखाउँछ ।
अनिता भाटिया भन्छिन्, ‘सबैभन्दा चिन्ताको विषय यो हो कि धेरैजसो महिला अहिले पनि काममा फिर्ता भएका छैनन् । सेप्टेम्बर महिनामा नै अमेरिकामा दुई लाख पुरुषको तुलनामा ८ लाख ६५ हजार महिलाले जागिर छोडेका थिए । यसबाट के बुझ्न सकिन्छ भने उनीहरुमाथि हेरविचारको बढी जिम्मेवारी थियो र यसका लागि अन्य कुनै विकल्प थिएन ।’
यूएन वुमनले कामकाजी महिलाको काम नहुँदा उनीहरुको स्वास्थ्यमा मात्रै नभई आर्थिक प्रगति र स्वतन्त्रतामा पनि असर पर्ने चेतावनी दिएको छ ।
बीबीसी १०० वुमनको समूहले तीन महिलासँग कुराकानी गरेका छन् र कोरोनाभाइरस महामारीले उनीहरुको कामकाजमा कसरी असर पारिरहेको छ, त्यसबारे जान्ने कोसिस गरे ।
तीन महिलालाई एउटा डायरी राख्न भनियो जसमा उनीहरुले दिन कसरी व्यतित गरे भनेर नोट गर्न अह्राइयो । यसरी उनीहरुको २४ घण्टाको आँकलन गर्ने कोसिस गरियो ।

टेनी वाडा
‘म सधैं असाध्यै थाक्छु’
महामारी अघि पनि जापानमा महिलाको बेतलबी काममा पुरुषको तुलनामा औसतमा लगभग पाँच गुणा बढी समय खर्च गर्दथे ।
टेनी वाडा टोकियोमा एक ब्रान्ड कन्सल्टेन्ट हुन् र लकडाउन सुरु हुनु अघि एक नर्सरी शिक्षिकाको रुपमा पार्ट टाइम काम गर्थिन् ।
उनले आफ्नो डायरीमा लेखिन्, ‘बिहानको पाँच बजिसकेको छ र म कसै गरी यो लेख पूरा गर्न चाहन्छु । यसको समयसीमा नजिक छैन तर म यसलाई समयमा नै गर्न चाहन्छु । ‘आमाको जीवन’को अनुमान लगाउन सकिँदैन र म चाहन्नँ कि यसकारण मैले आफ्नो पे चेक (तलब) गुमाउनु परोस् । ’
टेनी भन्छिन्, ‘मेरा लागि समय एक ‘लग्जरी’ जस्तै हो जुन मैले बच्चालाई पढाउन, खाना बनाउन र घरका अन्य कामको बीचमा निकै विरलै पाउने गर्छु ।’
लकडाउनपछि टेनी र उनका श्रीमान् दुबै घरबाट काम गरिरहेका छन् तर उनको दिन निकै भिन्न तरिकाले बित्छ ।
टेनी भन्छिन्, ‘उनी बिहान साढे ९ बजेदेखि करिब पाँच वा साढे ६ बजेसम्म काम गर्छन् । मलाई लाग्छ कि उनीसँग कोठाभित्र बसेर काममा ध्यान दिने सुविधा छ तर मसँग यस्तो सुविधा छैन । मलाई यो थोरै गलत लाग्छ ।’
टेनीका अनुसार उनी घरमा ८० प्रतिशत बेतलबी काम गर्छिन् जसमा उनकी तीन वर्षकी छोरीलाई घरमा पढाउनु पनि समावेश छ ।
उनी याद गर्दै भन्छिन्, ‘पहिलो दुई तीन महिना निकै भयानक थियो । म हरेक दिन मानसिक रुपमा असाध्यै थाक्छु । मेरी छोरी रोइरहेकी हुन्थिन् र त्यसपछि म पनि रुन्थेँ ।’
यूएन वुमनको चीफ स्ट्याटिस्टिसियन पापा सैक भन्छन्, ‘हामी यसको चिन्ताजनक प्रभाव देखिरहेका छौं । यसमा बढ्दो तनाव र मानसिक स्वास्थ्यको विषयमा देखिएको चुनौती समावेश छ, विशेषगरी महिलाका लागि । यसको एउटा कारण उनीहरुमाथि बढ्दो कामको बोझ पनि हो ।’
‘मैले सबैकुरा एक्लै गर्नुपर्दथ्यो’
डलिना वेलासकेथ एक किसान हुन् र बोलिवियाको दक्षिणी शहर टरिजामा सेरकादो प्रान्तमा बस्छिन् ।
साधारणतया उनको दिन बिहान पाँच बजे सुरु हुन्छ र उनी आफ्नो धेरैजसो समय ग्रीनहाउस र घरको काममा बिताउँछिन् । तर हरेक दुई महिनामा उनी आफूले उब्जाएको तरकारी बेच्नका लागि शहर बजार डुल्ने गर्छिन् ।
उनी भन्छिन्, ‘खेतमा काम गरेको दिन असाध्यै थकाई लाग्छ । मलाई यस्तो हुन्छ किनभने मैले घरमा पनि धेरै नै काम गर्नुपर्छ । तर अब मलाई छोरीले पनि घरको काममा सघाउँछिन्, उनी मेरो दाहिने हात हुन् । छोरीले मलाई घरमा, खेतमा र ग्रीनहाउसमा पनि मेरो मद्दत गर्छिन् ।’
पारम्परिक रुपमा पुरुषलाई कमाई गर्ने व्यक्ति भनिन्छ भने महिला घर सम्हाल्छिन् । त्यसैले छोरीले घरको काम सिक्नैपर्छ भन्ने गरिन्छ ।
पापा स्याक भन्छन्, ‘जब बच्चाबाट मद्दत लिने कुरा आउँछ (बेतलबी काममा), तब आमा बुवा छोराको साटो छोरीको मद्दत लिन रुचाउँछन् । ’
तर डलिना खुसी छिन् कि उनले लकडाउनका बेला आफ्नो परिवारसँग बढी समय बिताउने मौका पाइन् ।
उनी भन्छिन्, ‘यसअघि मैले नर्सरी, बिउ खरिद गर्ने, बिउ छर्ने, उमार्ने, पानी हाल्ने, खाना पकाउने र सरसफाईजस्ता काम एक्लै गर्नुपर्दथ्यो । तर अब स्कूल बन्द भएका छन् । मेरी छोरी सर–सफाईमा मलाई मद्दत गर्छिन्, मेरा श्रीमान् हामीसँग धेरै समय बिताउँछन् र काममा हामीलाई मद्दत गर्छन् । जसका कारण मैले आराम गर्ने मौका पाएकी छु ।’

डलिना वेलासकेथ
‘एक महिनामा हालत खराब’
डाक्टर इजोमा कोला एक नाइजेरियाली अमेरिकी हुन् र केन्याको राजधानी नैरोबीमा बस्छिन् ।
उनका अनुसार उनले आमा बन्ने र आफ्नो जागिरको जिम्मेवारी यसकारण सम्हाल्न सकिरहेकी छिन् किनभने उनका श्रीमान् असाध्यै सहयोगी छन् ।
उनी भन्छिन्, ‘सबै महिलासँग यस्तो सुविधा हुँदैन न नै कसैलाई मद्दतका लागि राख्न आर्थिक स्थिती राम्रो हुन्छ । तरपनि म हाम्रो छोराको हेरविचारका लागि दैनिक ६ वा ७ बजे उठिसक्छु ।’
इजोमका अनुसार समाज आर्थिक रुपमा महिलाको पक्षमा बनाइएको छैन र महिलाका लागि यस्ता नियम बनाइएका छन् कि औसत महिलाका लागि जागिर, परिवार र बालबच्चा सबै एकसाथ पाउन असम्भव झैं छ ।
उनी भन्छिन्, ‘महिलाले यो सबै पाउन सक्छन् तर एकसाथ होइन र ठूलो त्याग नगरी त कुनै पनि हालतमा सम्भव छैन । मलाई लाग्छ कि यो सबै पाउने निकै कम महिला हुन्छन् । म आफूलाई निकै भाग्यमानी ठान्छु किनभने मसँग सबैकुरा नभएपनि धेरैजसो कुरा भने छ ।’
कसैलाई मद्दतका लागि बोलाउँदा इजोमा र उनको परिवारका लागि लकडाउनको समय थोरै सहज भयो ।
उनी भन्छिन्, ‘करिब महिना दिनसम्म घरमा हामी दुईजना मात्रै थियौं, मद्दतका लागि कोही पनि थिएनन् । त्यतिबेला मेरो स्थिती असाध्यै खराब भएको थियो । मलाई लाग्यो कि मेरो धेरै नै काम छ र घरको कामका कारण म आफ्नो आफिसको काम गर्न सकिरहेकी थिइनँ ।’
यद्यपि, उनका श्रीमान् बच्चा सम्हाल्न उनलाई पूरा मद्दत गर्छन् । उनी कपडा धनु र भाँडा माझ्ने काममा पनि सहयोग गर्छन् । तर इजोमालाई लाग्छ कि घरको काम सम्हाल्ने जिम्मेवारी उनीमाथि पनि आइपरेको जस्तो उनलाई लाग्छ ।
उनी भन्छिन्, ‘मेरो दिमागमा सधैं कामको कुरा मात्रै खेलिरहेको हुन्छ । उनी त्यस्ता कुराबारे सोच्दैनन् जस्तै घरको सामानको सूची, बच्चाको पहिलो जन्मदिन र साथीसँग कुरा गर्नका लागि जूममा समय निश्चित गर्नु ।’
डाक्टरसँग समय लिनु, खाना बनाउनु र घर ठिक राख्नेलगायतका कामका बीच उल्झिरहँदा महिलामा मानसिक तनाव बढ्ने गर्छ । यसले उनीहरुको शारीरिक र मानसिक स्वास्थ्यमा खराब असर पर्नसक्छ ।

डा.इजोमा कोला
घरको कामका लागि न पैसा न इज्जतः
महिलाको बेतलबी कामबाट हेरविचारमा लाग्ने खर्च बच्ने गर्छ र परिवारका अन्य सदस्य घरेलू कामबाट भारमुक्त हुन्छन् । तर उनीहरुको यो मिहिनेतलाई कहिले पनि सम्मानका साथ स्विकार गरिँदैन ।
अनिता भाटिया भन्छिन्, ‘महत्वपूर्ण कुरा के हो भने महिलाको कामको कहिले पनि तारिफ हुँदैन र यस्ता काम खासै महत्वपूर्ण नहुने भएकोले पैसा भुक्तानी पनि गर्नु पर्दैन भनेर हेरिन्छ ।’
‘बेतलबी काम वास्तवमा संसारका लागि एक सामाजिक सुरक्षा हो भनेर महामारीले देखाएको छ । यसले अरुलाई बाहिर गएर कमाउन सम्भव बनाइदिन्छ जबकी यसले घरेलू महिलाका लागि आफूलाई अघि बढाउन र रोजगार पाउने मौकामा बाधा निम्त्याउँछ ।’
जो महिला धेरै तलब नआउने काम गर्छन् उनीहरुसँग जागिर खानका लागि समय नै बच्दैन । नतिजा यो हुन्छ कि उनीहरु आर्थिक रुपमा असुरक्षित हुन्छन् ।
अनिता भाटिया भन्छिन्, ‘यसको कति ठूलो समस्या छ भनेर भन्न मुश्किल छ र यदि सरकार र कर्पोरेट जगत यसमा केही गर्दैनन् भने यसको ठूलो प्रभाव पर्नेछ ।’



