सत्तारुढ दल नेकपा माओवादी केन्द्रका नेता एवम् पूर्वअर्थमन्त्री वर्षमान पुनले सरकारले हालै ल्याएको बजेट ०७४-७५ को आर्थिक बजेट समग्रमा राम्रो भएको टिप्प्णी गरेका छन् ।
मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै पूर्वअर्थमन्त्री पुनले समयमै बजेट आउनु र यसमा सबै दलहरुको समर्थन रहनु सुखद् पक्ष रहेको बताएका हुन् । उनले भने,‘जेठ १५ गते बजेट ल्याउनुपर्ने थियो समयमै बजेट आयो, यो एकदमै खुशीको कुरा हो ।’
पुनले समयमै बजेट आएकोले यसले इतिहासमा पहिलो दर्ज गरेको उल्लेख गरे । उनले भने,‘यसपालि समयमै बजेट आएको छ, सम्माननीय प्रधानमन्त्री क. प्रचण्ड र अर्थमन्त्री क. महराको नेतृत्वमा संघीय बजेटको रुप दर्ज भएको छ, यो खुशीको कुरा हो, यो एउटा इतिहासमै पहिलो दर्ज भएको छ ।’
उनले दोस्रो चरणको निर्वाचनकोबीचमा बजेट आएकोले आचारसंहितालाई ध्यान दिएर बजेट आएको समेत स्पष्ट पारे । पुनले भने,‘संघीय स्वरुप अनुसार नै स्थानीय तह वा सरकारलाई पर्याप्त बजेट गएको छ ।’ उनका अनुसार मनाङमा ५ सय जनसंख्या भएको गाउँपालिकामा पनि न्यूनतम् दश करोड बजेट गएको छ । उनले केन्द्रिय तहबा स्थानीय तहमा बजेट पर्याप्त रुपमा पुगेकोमा खुशी व्यक्त गर्दै यो अत्यन्तै सकारात्मक पक्ष भएको बताए ।
सहभागितामूलक लोकतन्त्रलाई बजेटले संस्थागत गरेको समेत उनको विश्वास थियो । उनले बजेटका राम्रा विशेषताहरुमा राष्ट्रिय गौरवका आयोजनाहरुलाई समयमै सम्पन्न गर्नेगरि मुठ्ठी फुकाएर बजेट विनियोजन गरिएको समेत स्पष्ट पारे । उनका अनुसार सरकारले हुलाकी राजमार्ग, तीन वटा अन्र्तराष्ट्रिय विमानस्थल निर्माण, फाष्ट ट्रयाक, हुलाकी राजमार्ग, जलविद्युत आयोजनामा राम्रो बजेट विनियोजन गरिएको छ ।
त्यस्तै सरकारले ठूला आयोजना अन्र्तगत उज्यालो नेपाल अन्र्तर्गत उर्जा क्षेत्रमा ७८ अर्व विनियोजन गरिएको यो बजेटको राम्रो विशेषता रहेको पुनले बताए । त्यस्तै यही माघ ७ गतेभित्र तीन तहकै निर्वाचन सम्पन्न गर्नको लागि सुनिश्चिततासहित बजेट विनियोजन भएकोमा प्रंशसा गरेका थिए ।
उनले आगामी ५ वर्षभित्र मुलुकको राजनीतिक संक्रमण अन्त्य गरि आर्थिक क्रान्तिलाई द्रुत गतिमा अघि बढाउने गरी बजेट आएको समेत उनले बताए । कर्मचारीको तलव भत्ता वृद्धि नभएकोमा थोरै गुनासो भएपनि यसलाई पूरक बजेटमा समेट्ने आफूले विश्वास लिएको बताए । उनले भने,‘आचारसंहिताको कारण अहिले राष्ट्रसेवक कर्मचारीको तलव वृद्धि हुन सकेन् तर हामी यसलाई पूरक बजेटमा समेट्छौं भन्नुभएको छ, मलाई विश्वास छ, यो अब आउने बजेटमा समेटिनेछ ।’
त्यस्तै जेष्ठ नागरिक, एकल महिला लगायतका सामाजिक सुरक्षा भत्ता समेत पूरक बजेटमा समेटिने आफूले विश्वास लिएको पुनको भनाई थियो । त्यस्तै युवा स्वरोजगारलाई पनि विशेष ध्यान दिईने उनको तर्क छ ।
यद्धपी उनले बजेटको आकार ठूलो भएको भन्ने गुनासो भएपनि यसको स्रोत राजश्व संकलन नै रहेको बताए । उनले भने,‘कर २० प्रतिशतले वृद्धि हुन्छ, त्यसैले यो लक्ष्य सजिलै हाँसिल हुन्छ।’ पुनले भुकम्पपछिको पूर्ननिर्माणको लागि पनि सरकराले पर्याप्त रकम विनियोजना गरेकोमा खुशी व्यक्त गरे ।
त्यस्तै यो बजेटको राम्रो पक्ष भनेको बजेट समयमै कार्यान्वयन गर्ने कार्यतालिक समेत रहेको पुनले दाबी गरे । उनले भने,‘परियोजनाहरु कसरी कार्यान्वयन गर्ने भनेर स्पष्ट तालिका नै आएको छ, यो अत्यन्तै सुख्द कुरा हो ।’
फरक प्रसंगमा उनले कांग्रेस सभापति शेरबहादुर देउवालाई अब प्रधानमन्त्री बन्नबाट कसैलेपनि रोक्न नसक्ने बताए । उनले भने,‘सकेसम्म सहमति अनुसार नै उहाँ प्रधानमन्त्री बन्नुहुन्छ, यदि संभव भएन भने उहाँ बहमुतको प्रधानमन्त्री बन्नुहुन्छ, हामी ढुक्क छौं, उहाँलाई प्रधानमन्त्री बन्नबाट कसैलेपनि रोक्न सक्दैन ।’ उनले सभापति देउवा यही २१ व २२ गते नै प्रधानमन्त्री बन्ने दाबी समेत गरे ।
त्यस्तै उनले देउवालाई सहमतीय सरकारको नेतृत्व गर्नको लागि सबैभन्दा सुविधाजनक अवस्था रहेको समेत जिकिर गरे । उनले भने,‘कम्तिमा पनि तीन तहकै निर्वाचन सम्पन्न नहुञ्जेलसम्म प्रमुख तीन दल मिलेर जानुपर्ने हो, तर एमाले आए राम्रो हुन्छ नआए पनि हामी यही गठबन्धन अगाडि बढ्छौं ।’ पुनले प्रमुख प्रतिपक्षी दल एमालेलाई पनि सरकारमा सहभागी गराउनको लागि आफूहरुको पूर्ण प्रयत्न रहने जिकिर गरे ।




