काठमाडौं, १७ जेठ । सबै दलसँग कार्यगत एकता गर्ने भन्दै घनीभूत सल्लाह गर्ने तर अन्त्यमा आफैं भाग्ने उपेन्द्र यादवको चरित्रबाट मधेसी नेता हायलकायल छन् । अरु मधेसी नेतालाई त फनफनी घुमाएकै थिए उनले विद्यावारिधिवाल डा. बाबुराम भट्टराईलाई समेत हत्तु खेलाइदिएका रहेछन् ।
जनआस्था साप्ताहिकमा खबर छ– मधेसका ६ पार्टी मिलेर राजपा गठन हुनुअगाडि नै बाबुराम भट्टराईको नयाँ शक्ति र उपेन्द्र यादवको फोरम पार्टीबीच एकता गर्ने हल्ला चले । तर, यो हल्ला अन्त्यमा हल्लामै टुंगिने भएको छ । नभएका होइनन्, यो बीचमा उपेन्द्र र बाबुरामबीच सयौं पटकसम्म सल्लाह पनि भएको हो ।
कहिले सानेपास्थित भट्टराईकै निवासमा त कहिले नयाँ शक्तिको केन्द्रीय कार्यालयमा । तर, अन्ततः भट्टराईको नयाँ शक्तिसँगको एकता भाँडेर उपेन्द्र यादव कहिले राजपा त कहिले विजय गच्छदारसँग एकीकरण गर्छु भन्दै हिँड्न थालेका छन् ।
बाबुरामनिकट स्रोतका अनुसार उपेन्द्र यादवलाई बाबुराम भट्टराईसँग एकीकरण भाँड्न बाहिर र भित्री दुवै खालका शक्ति सक्रिय रहे । हाललाई स्थगन भनिएको र चुनावपछाडि नयाँ शिराबाट एकीकरण प्रक्रिया थाल्ने नयाँ शक्तिका नेताले बताए पनि यी दुई शक्तिबीच एकीकरण नहुने पक्का भएको छ ।
यसको संकेत केही साताअघि सानेपास्थित आफ्नै निवासमा आफूनिकटका केही पत्रकारको भेलामा भट्टराईले खुलासा गरेका थिए ।



