तेह्रथुम, १९ जेठ । जिल्ला शिक्षा कार्यालयले १० हजार ३१७ विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको छ ।

जिल्लाका सामुदायिक विद्यालयमा अध्ययनरत दलित, अपाङ्ग, सीमान्तकृत, छात्रा छात्रवृत्ति र जेहेन्दार छात्रवृत्ति वितरण वितरण गरिएको जिल्ला शिक्षा अधिकारी कृष्णप्रसाद पोखरेलले जानकारी दिनुभयो ।

“विद्यार्थीको शैक्षिक गतिविधिमा सुधार ल्याउन छात्रवृत्ति वितरण गरिएको हो,” उहाँले भन्नुभयो । जिल्लाभरका विद्यालयले जेठ १४ गतेदेखि १६ जेठसम्म अभियानकै रुपमा छात्रवृत्ति वितरण गरेका छन् । यस वर्ष कार्यालयले रु ४९ लाख तीन हजार छात्रवृत्ति स्वरुप वितरण गरेको पोखरेलले बताउनुभयो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

शिक्षा कार्यालयले दलित छात्रवृत्ति आधारभूत तहलाई रु चार सय, मावि तहका विद्यार्थीलाई रु पाँच सय, आधारभूत तह छात्रा सबैलाई रु चार सय र अपाङ्ग विद्यार्थीलाई रु एक हजारका दरले दिने गरेको छ । सीमान्तकृत छात्रवृत्ति आधारभूत तहमा रु चार सय, माध्यमिक तहमा रु एक हजार ७०० र माध्यमिक शिक्षा छात्रवृत्ति रु एक हजार ७०० का दरले वितरण गर्ने गरेको छ ।

यस वर्ष दलित छात्रवृत्तितर्फ आधारभूत तहमा २४ जना, माध्यमिक तहतर्फ २७३, छात्रा छात्रवृत्तितर्फ आधारभूत तहका सात हजार १८०, सीमान्तकृत छात्रवृत्ति आधारभूत तहतर्फ ४५, माध्यमिक तहका सात, माध्यमिक शिक्षा जेहन्दार विद्यार्थीतर्फ ६२१ तथा अपाङ्ग छात्रवृत्तितर्फ १५१ जनालाई वितरण गरिएको कार्यालयले जनाएको छ ।

सीमान्तकृत छात्रवृत्ति सबै ५२ जना माझी समुदायका विद्यार्थीलाई वितरण गरिएको छ । जिल्लामा हाल ४६ वटा माध्यमिक विद्यालय र १८३ वटा आधारभूत विद्यालय रहेका छन् । रासस