काठमाडौं,१९ जेठ । नेपालमा वितण्डा मच्चाउने भारतीय प्रहरीलाई बिना कारबाही छोडिएको छ ।
बुधबार राती २ बजे एक नेपालीलाई अपहरण गरी भाग्नै लागेका बेला डोटी प्रहरीले समातेको १० घण्टा मै माथिको आदेश भन्दै सकुसल छोडिएको हो ।
दिपायल सिलगढी नगरपालिका ८ लडागडा बस्ने अन्दाजी ३० वर्षिय युवा लाल आउजीलाई भारतीय प्रहरीका डिएसपी नागराजको समूहले अपहरण गरी भाग्दै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय डोटीले नियन्त्रणमा लिएको थियो ।
नियन्त्रणमा लिएको १० घण्टामै डोटी प्रहरी प्रमुख डिल्लीराज बिष्ट आफैं छोड्न गएका छन । बुधबार राती घटनाबारे स्थानीयले थाहा पाएपछि लडागडा प्रहरीचौकीलाई खबर गरुञ्जेल भागिसकेको र त्यसपछि जिल्ला प्रहरी कार्यालय डोटीलाई खबर गरेपछि सिलगढीबाट उक्त अपहरणकारी समूहलाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएको थियो ।
भारतीय समूहसँगै डोटी लडागडाकै प्रसाद पार्कीलाई ल्याएर घर देखाउन भनि आएका थिए । प्रसाद पार्कीले पनि राती घर देखाएका थिए भन्ने बुझिएको छ ।
प्रसादले घरमा म प्रसाद इन्डियाबाट आएको ढोका खोल्नुस भन्दा ढोका खोली सकेपछि एक्कासी डिएसपीको समूह नै आएर सुतेकै बेला लाल बहादुर आउजीलाई कुटपीट गरी नाम्लोेले हातखुट्टा बाँधी मुखमा पट्टी बाधेर गाडीमा राखेर हिडेका थिए । त्यतिकैमा प्रहरी चौकी लडागडामा खबर गर्ने बित्तिकै रोक्न नसकेर जिप्रकामा खबर गरेको थियो ।
लडागडा प्रहरी चौकीले खबर गरेको २० मिनेटमै सिलगढी पुगेको बताइन्छ । बस चेकिङ्ग हुदै थियो । बीच सडकमा बस हुनाले भारतीय प्रहरी आएको गाडी नियन्त्रणमा लिएको बताइन्छ ।
डोटीका प्रमुख जिल्ला अधिकारी गोकर्ण प्रसाद शर्माले भने, यो दुइ देशको कुरा हुनाले माथिको आदेश अनुसार डिएसपीको टोलीलाई छोडेका हौं । उनले भने प्रहरी प्रमुख डिल्लीराज बिष्ट डिएसपीको टोलीलाई छोड्न बिहीबार राती कञ्चनपुर तिर गएका छन् । उता बन्धक बनाएर ल्याएका लाल आउजीलाई भने अहिलेसम्म पनि डोटी प्रहरीले थुनुवामा राखेको बुझिएको छ ।
यस बिषयमा सुदूपश्चिम क्षेत्रीय प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक रोमेन्द्र सिं देउजाले भने उनीहरुले माफी मागी सके त्यसैले भारतीय प्रहरीको जिम्मा लगाएका हौं । उनले भने, हामी पनि कहिलेकाँही अनुसन्धानको लागि भारत जान्छौं, त्यसरी नै उहाँहरु प्नि आएका हुन ।
घरमा गएर अपहरण गरेकोमा भने माफी मागी सकेकाले भारतीय प्रहरीको जिम्मा लगाएका हौं । त्यो भन्दा बढी कुनै कारबाही गर्ने प्राबधान छैन उनले भने ।
भारतीय प्रहरीसंगै नियन्त्रणमा लिईएको गाडी र चालक राजेश बागचनलाई पनि भारतीय प्रहरी टोलीसंगै कञ्चनपुर पु¥याईएको थियो । उनीहरुलाई पनि सम्वन्धित व्यक्तिको जिम्मा लगाईने प्रहरी नायव महानिरीक्षक देउजा बताए ।



