काठमाडौं १९ जेठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राप्रपा अध्यक्ष कमल थापाबीच गोप्य भेट भएको छ ।
एमालेसहित विपक्षी दलहरुको बैठक बसिरहेका धुम्बराहीमा राप्रपा अध्यक्ष थापा पुगेका थिए । विपक्षी दलहरुको बैठकमा सहभागी नभएका थापाले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग मात्र गोप्य छलफल गरेका थिए ।
भेटपछि राप्रपा अध्यक्ष थापाले भरतपुरको मतगणना र प्रधानमन्त्री चुनाव अलग भएको बताएको स्रोत बताउँछ । उनले प्रधानमन्त्रीको निर्वाचन प्रक्रिया रोक्न नहुने धारणा राखेका थिए ।
यद्यपि उनले भरतपुरमा पुनःमतदान गर्न नहुने राप्रपाको धारणा रहेको समेत बताए । च्यातिएको मतपत्रलाई बदर गरेर बाँकी मतको गणना तत्काल थाल्नु पर्ने उनले बताएको बुझिएको छ ।
यसैबिच, नेकपा एमालेसहित विपक्षी दलहरुले व्यवस्थापिका संसदको अवरोध हटाएर मात्र प्रधानमन्त्री निर्वाचनको प्रक्रिया सुरु गर्न माग गरेका छन् ।
शुक्रबार एमाले संसदीय दलको कार्यालयमा बसेको बैठकले सूचना टाँसेर प्रक्रिया सुरु नगर्न माग गरेको हो । भरतपुरको मतगणना सुरु गर्न माग गर्दै एमालेले नै संसद अवरुद्ध पार्दै आएको छ ।
एमालेको अवरोधका कारण बहुमतीय सरकार गठनका लागि आहृवान गर्दै राष्ट्रपतिले पठाएको पत्र समेत संसदमा पेश हुन सकेको छैन ।



