काठमाडौं, २१ जेठ– मुलुकको ४० औं प्रधानमन्त्री चयनका लागि व्यबस्थापिका संसद्को बैठक आइतवार दिउँसो बस्दैछ । विहान ११ बजेका लागि बोलाइएको बैठक एमालेले अबरुद्ध गर्ने चेतावनी दिएपछि दिउँसो ३ बजे सम्मका लागि स्थगित गरिएको छ ।
संसद् बैठक सुचारु भएमा आइतवार नै कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवा प्रधानमन्त्री निर्वाचित हुने सम्भावना छ । प्रधानमन्त्रीय निर्वाचनमा देउवा एलो उम्मेदवार छन्, तर प्रधानमन्त्रीमा विजयी हुन उनले संसदमा बहुमत सदस्यको समर्थन देखाउनु पर्नेछ ।
संसदमा हाल कायम सदस्य संख्याको बहुमत सदस्यले देउवालाई प्रधानमन्त्रीमा समर्थन गर्ने प्रतिबद्धता जनाइसकेका छन् । संसदमा अहिले सांसदको सदस्य संख्या ५ सय ९३ छ । प्रधानमन्त्रीमा निर्वाचित हुन देउवालाई २९७ सांसदको समर्थन चाहिन्छ ।
प्रधानमन्त्रीका उम्मेदवार देउवाकै दल कांग्रेसका २ सय ६ सांसद छन् । यस्तै देउवालाई समर्थन गरेको नेकपा माओवादी केन्द्रका ८१, फोरम लोकतान्त्रिकका १६ सांसद छन । विजय गच्छदार नेतृत्वको लोकतान्त्रिक फोरमले समर्थन गर्दा देउवालाई आवश्यक बहुमत भन्दा बढी ३०३ पुग्छ ।
त्यसमा पनि ३ सांसद संख्या रहेको नेकपा संयुक्तसँगै एक–एक सांसद संख्या रहेको अखण्ड नेपाल पार्टी, समाजवादी जनता दलले पनि देउवालाई समर्थन गरेका छन् । यो सबै जोड्दा देउवालाई समर्थन गर्ने सांसदको संख्या ३०८ पुग्छ ।
संसदमा ३७ सांसद रहेको राप्रपाले पनि देउवालाई प्रधानमन्त्रीमा समर्थन गर्ने संकेत गरेको छ । मधेश केन्द्रित दलहरु राजपा र संघीय समाजवादी फोरमले भने अहिलेसम्म देउवालाई समर्थन गर्ने नगर्ने स्पष्ट बताएका छैनन् । लोकान्तर बाट साभार



