प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले विघटित प्रतिनिधि सभाका सभामुख अग्नि सापकोटाको भूमिकाप्रति आक्रोश व्यक्त गरेका छन् ।

सभामुखले सरकारले संसद्मा लगेका प्रस्तावलाई निर्णयार्थ पेश नगरेर संसदीय अराजकता निम्त्याएको आरोप उनले लगाए ।

३६ देशमा रहेका प्रवासी नेपाली समुदायका अगुवालाई शुक्रवार भर्चुअल सम्बोधन गर्दै ओलीले यस्तो आरोप लगाएका हुन् ।

‘सरकारले संसद्मा पेश गरेको प्रस्ताव सभामुखले निर्णयार्थ पेश नगर्ने, योभन्दा अराजकता के हुन्छ ? हाम्रा कूटनीतिक सम्बन्धमा आशंका पैदा गर्ने र विकासका प्रयासमा बाधा पुर्‍याउने काम भयो । संसद्ले गर्नुपर्ने निर्णय सभामुखले रोकेर राखे यस प्रकारको अराजकता नेपालबाहेक अन्त कहीँ हुन्छ ?’ ओलीले भने ।

प्रधानमन्त्रीको संकेत अमेरिकी सहयोग परियोजना एमसीसीतर्फ थियो । सरकारले संसद्मा लगेको एमसीसी अनुमोदनसम्बन्धी प्रस्ताव तत्कालीन सभामुख कृष्णबहादुर महरा र हालका सभामुख अग्नि सापकोटा दुवैले रोकेर राखेका थिए ।

यसरी एमसीसी रोकिँदा अमेरिकासँगको सम्बन्धमा आशंका उत्पन्न भएको अर्थमा प्रधानमन्त्रीले आक्रोश व्यक्त गरेका हुन् ।

प्रधानमन्त्री ओलीले प्रचण्ड नेपाल समूहले अविश्वासको प्रस्ताव दर्ता गर्ने क्रममा सभामुखले कीर्ते काम गरेको आरोप समेत लगाए ।

‘केही सांसदले संसद् विघटन भएपछि अविश्वासको प्रस्ताव दर्ता गरे, संसद् विघटन भइसकेपछि अविश्वासको प्रस्तावको अर्थ थिएन । दिउँसो साढे ३ बजे लगेको हस्ताक्षरलाई सभामुखकोमा गएर १० बजेर ४० मिनेटमै आएको भनेर कीर्ते सनाखत गरेको थाहा भयो,’ ओलीले भने, ‘सभामुखजस्तो मर्यादित पोस्टबाट त्यसखालको अवैधानिक कामलाई वैधानिकता दिनका लागि भनेर झुटो सनाखत सभामुखबाट कीर्ते काम हुनु कहाँसम्म लज्जास्पद् घटना हो ? यसको दबाइ ताजा जनादेश हो ।’

प्रधानमन्त्री ओलीले देश चल्नै नसक्ने अवस्था भएपछि ताजा जनादेशमा जानु परेको बताए ।

‘ताजा जनादेशको अर्को विकल्प छैन । बहुमतको सरकारको प्रधानमन्त्रीले म चलाउन्न, समय बर्बाद गर्नेगरी गर्दिनँ, चुनाव स्थिरतातर्फको यात्रा हो भनेपछि संसद् पुनःस्थापना हुने कुरै छैन,’ ओलीले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय