
काठमाडाैं । संघीय संसद्को माथिल्लो सदन राष्ट्रियसभाको हिउँदे अधिवेशन केही शुरु भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान गर्नुभए अनुसार अधिवेशन अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा शुरू भएकाे हाे।
बैठकको आरम्भमा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनुभएको थियो । बैठक शुरु भएकाे सन्दर्भमा विभिन्न दलका नेताहरूबाट सम्बोधन शुरु भएकाे छ ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्सम्बन्धी पहिलो संशोधन तथा गृहमन्त्री रामबहादुर थापाले तेजाब तथा अन्य घातक रासायनिक पदार्थ नियमन, नेपाल प्रहरी र प्रदेश प्रहरी पहिलो संशोधन तथा सामाजिक सुरक्षा पहिलो संशोधन अध्यादेश बैठकमा पेश गर्ने कार्यसूची रहेकाे संसद सचिवालयले जानकारी दिएकाे छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले औषधि तेस्रो संशोधन एवं कानून, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश र फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश २०७७ पेश गर्ने संसद् सचिवालयले जनाएको छ ।