– वसन्तराज कुँवर
प्रहरीमा हार्नेले मात्र हैन जित्नेले पनि सरकार र राजनीतिज्ञबाट थुप्रै अदृश्य पीडा भोगेका हुन्छन्, जुन बाहिरका आँखाले देख्न सक्दैनन् । धेरै वर्षअघिदेखि प्रहरी कर्मचारीहरूमाथि सरकार र राजनीतिज्ञबाट कतिसम्मको शोषण गरिन्छ ? यस सम्बन्धमा म एउटा फिल्म बनाउन चाहन्थेँ किनकि मैले त्यो शोषण आफैँले अनुभव गरेको छु । यस फिल्मका लागि मलाई एउटा मन छुने मूलकथा चाहिएको थियो जुन कथा हालै मैले फेला पारेँ । मेरो कल्पनाको फिल्ममा डिआइजी नवराज सिलवालको जीवन र थुप्रै कोपभाजनमा परेका बहालवाला तथा पूर्वप्रहरी कर्मचारीहरूको कथा मूल विषय हुनेछ ।
मलाई लाग्छ- नेपाल र नेपाल प्रहरीमा डिआइजी नवराज सिलवालको कथा धेरै वर्षसम्म मान्छेले सुन्न पनि चाहनेछन् र सुनाई पनि रहनेछन् । उनको कथा सुनाउँदा एउटा आम मान्छेले अर्को आममान्छेलाई भन्ने होलान् कि, एकादेशमा एउटा नवराज सिलवाल नामका प्रहरी अधिकृत थिए । उनी जहाँ जहाँ बसे त्यो जिल्ला, क्षेत्र, अञ्चलमा जनताले उनलाई खुब रुचाए । उनी मृदुभाषी थिए । सामाजिक व्यक्ति र संस्थासँग उनको सधैँ राम्रो सम्बन्ध हुन्थ्यो । पढाइमा उनी अब्बल थिए । प्रहरी निरीक्षकदेखिनै उनी प्रहरी महानिरीक्षकको भाषण लेख्थे । अन्तराष्ट्रमा उनको ठूलो ख्याति थियो । उनी श्रोत व्यक्तिका रूपमा अन्तराष्ट्रमा जाने पनि गर्थे । उनले नक्कली डाक्टर, इन्जिनियरहरू पत्ता लगाए । सुन तस्करहरूको सातो खाए । तक्मा उनलाई राज्यले दिएको थियो । अन्तराष्ट्रले अब्बल अनुसन्धानकर्ताको रूपमा उनलाई सम्मान गरेको थियो । अधिकांश जनताहरू उनी प्रहरी महानिरीक्षक भएको देख्न चाहन्थे तर २०७४ को स्थानीय निर्वाचनमा राजनीतिज्ञहरूलाई चुनावमा सहयोग गर्न सक्ने विश्वासप्राप्त प्रहरी प्रमुख चाहिएको थियो । त्यो हिसाबमा सिलवाल पर्न सकेनन् । सिलवाललाई सरकारको निर्णय चित्त बुझेन र उनी न्यायका लागि अदालतमा गए । अदालतले उनलाई बनाउन घुमाउरो पाराले आदेश दियो तर सरकारको मनसाय अर्कै थियो । सिलवाल पुनः आइजी हुन सकेनन् । उनीलाई मन पराउने जनताहरूले चित्त दुखाए । नेपाल प्रहरीमा राजनैतिक हस्तक्षेप र शोषण कतिसम्म हुन्छ र प्रहरी संगठनमा राजनैतिक स्वार्थ कतिसम्म कायम छ भन्ने सिलवालको कथाबाट थाहा हुन्छ । बिचरा सिलवाल राज्यद्वारा खुब अन्यायमा पारिए । यो कथा सुन्नेलाई सुनको माला, भन्नेलाई फुलको माला । आम जनताका कथा सायद माथिको झैँ हुने होला ।
– वसन्तराज कुँवर
सिलवालका बारेमा सायद तल्ला प्रहरीहरूले भन्ने कथा छुट्टै हुनेछ । तल्ला प्रहरीहरू जो सिलवाललाई मन पराउँछन् उनीहरूले भन्लान् – एकादेशमा नवराज सिलवाल नामको सर हुनुहुन्थ्यो । सिनियर र क्षमता दुवै भएका कारण उहाँ प्रहरी प्रमुख हुनैपथ्र्यो । हामीहरूले उहाँको नेतृत्वमा प्रहरी संगठनमा ठूलै सकारात्मक परिवर्तन हुने आशा पनि राखेका थियौँ किनकि उहाँले प्रहरी अधिकृतको रूपमा राष्ट्र र अन्तराष्ट्रमा ठूला ठूला काम देखाई समग्र प्रहरी संगठनको छवी माथि उठाउनु भएको थियो । धेरैलाई उहाँ नै प्रहरी प्रमुख हुनुहुन्छ भन्ने नै लागेको थियो तर राजनीतिक हस्तक्षेप र स्वार्थका कारण ती अधिकृतलाई पछि मात्र पारिएनन्, उनीविरुद्ध सरकार र ठूला ठूला प्रहरी अधिकृतहरू नै लागि भयानक षड्यन्त्रसमेत गरियो । युनिफर्म मै पक्राउ गर्ने सम्मको दुस्साहस भयो । अदालतको आदेशसमेत लत्याइयो । नेपालमा काम गरेर काम देखाएर कोही माथि जान सकिन्न भन्ने सिलवालको कथा सुनेर बुझ्नु । यो कथा सुन्नेलाई सुनको माला भन्नेलाई फुलको माला । तल्ला दर्जाले सायद यहि कथा भन्लान् ।
सुन तस्कर, नक्कली डाक्टर र उनले कारवाही गरेका र त्यो कारवाहीबाट मर्कामा परेकाहरूले अर्कै कथा भन्लान् । सायद उनीहरूले भन्ने छन्– एकादेशमा एउटा मै हुँ भन्ने प्रहरी अधिकृत थियो । त्यसले हाम्रो सुन समात्यो । सर्टिफिकेटमा कारवाही ग¥यो । त्यसलाई हाम्रो पछाडी र हामीसँग कति शक्ति छ भन्ने कुरा थाहा थिएन । हामीसँग मिलेको भए सिलवालले धन पनि कमाउँथ्यो र मान पनि । उसको गल्ती यहि थियो कि उसले हामीविरुद्ध हात हाल्यो । हाम्रो पहुँच कहाँ–कहाँ छ भनेर उसले बुझेन । आखिर हामी सबै लागि उसलाई प्रहरी प्रमुख हुनै दिएनौँ । अलि अलि खर्च चाहिँ भयो तर काम गराइयो । हामीलाई छुँदा के हुँदोरहेछ भनेर सिलवाललाई राम्ररी नै पाठ सिकायौँ । नेपालमा सुन तस्कर र अपराधीहरू प्रहरीभन्दा बलिया छन् भनेर हामीले प्रमाणित गरिदियौँ । यो कथा सुन्नेलाई सुनको माला भन्नेलाई फूलको माला । सिलवालबाट कारवाही खाएकाहरूले सायद यहि र यस्तै कथा भन्लान् ।
मलाई लाग्छ सिलवालका सम्बन्धमा राजनीतिज्ञहरूको कथा छुट्टै हुनेछ । उनीहरू जो तत्कालीन समयमा सरकारमा बसेर सिलवाललाई बिगार्न निर्णय गर्ने ठाउँमा थिए सायद तिनले भन्ने छन्– एकादेशमा एउटा सिलवाल भन्ने प्रहरी अधिकृत थियो । त्यसले आफ्नो क्षमता देखाएर आइजी हुनुपर्छ भन्यो तर सरकारले नचाहे के हुन्छ भन्ने त्यसले बुझेन । उसले अदालत गएर हामीलाई पाठ पढाउन खोज्थ्यो, तालिम देखायो, तक्मा देखायो, सिनियरिटी भएको दावा ग¥यो तर त्यसलाई हामीले यस्तो घनचक्करमा हालिदियौँ कि त्यसलाई प्रहरी प्रमुख हुनै दिएनौँ । सरकारका अगाडी कुइनो ठोक्न आउने त्यो प्रहरी कर्मचारीलाई बुझाइदियौँ कि सरकारको अगाडी कर्मचारी भनेको हरूवा–चरुवाजस्तै हुन् । नेपाल चलाउने हामी राजनीतिज्ञ हौँ र अरू हाम्रो निगाहमा बाच्ने रैतीजस्ता मात्र हुन् । महान भनेको राजनीति नै हो । सुन्नेलाई सुनको माला भन्नेलाई फूलको माला । सायद राजनीतिज्ञले भन्ने कथा यस्तै हुने होला ।
जो व्यक्ति वा अधिकृत सिलवालसँगै आफु प्रहरी प्रमुख हुनुपर्ने दावा गर्नुहुन्थ्यो उनीहरूले भन्ने कथा सायद अलि बेग्लै हुनेछ । उनीहरूले भन्ने होलान्– एकादेशमा एउटा सिलवाल भन्ने व्याचमेट थियो । उसको चेहरा बाहिर एउटा थियो भित्र अर्कै । उसले आफुलाई आफुमात्र प्रहरी प्रमुख पदको लागि योग्य भएको मान्थ्यो । हामी पनि उत्तिकै लायक थियौँ । पदोन्नति हुने बेलामा हामीले उसलाई हुनै दिएनौँ । अदालतबाट आउन खोज्दा पनि रोकेरै छाड्यौँ । मै हुँ भन्ने ती हाम्रा साथी भनौदोलाई हामीले सातो पनि खायौँ । उसलाई हामी सब मिली चल्न हल्न नसक्ने बनाइदियौँ । त्यो हाम्रो ठूलो विजय थियो । यो कथा सुन्नेलाई सुनको माला भन्नेलाई फुलको माला । सायद सिलवालको प्रतिस्पर्धीले भविष्यमा सुनाउने कथा यस्तै होला ।
सिलवाल कथाको अन्तमा हिरो पात्र होलान् वा भिलियन त्यो मैले अन्तिम कथा लेख्दा छुट्टिएला तर आम जनताका लागि उनको कथा कौतूहलताको विषय हुन सक्छ ।
पत्रकारहरूको पनि सिलवालको सम्बन्धमा सुनाउने अर्कै कथा हुनेछ । उनीहरूले भन्नेछन्– एकादेशमा सिलवाल भन्ने प्रहरी अधिकृत थिए र तिनले प्रहरी प्रमुख पद प्राप्त गर्नैपथ्र्याे । हामी सबैले साथ पनि दियौँ तर सत्तामा रहेका राजनीतिक दलहरूको स्वार्थका कारण तिनलाई पदोन्नति दिइएन । अदालतको आदेश पनि लत्याइयो । विचरालाई झुटा मुद्दा लगाउने प्रयासमा स्वयम् प्रहरीहरू नै लागे । सिलवाल आखिर प्रहरी प्रमुख बन्न सकेनन् । हामीले सिलवाललाई सक्दो साथ दियौँ तर एउटा व्यक्तिको पछाडी राज्य नै लागेपछि तिनको के लाग्थ्यो ? हामीले पनि कति साथ दिन सक्थ्यौँ र ? आखिर जो प्रहरी प्रमुख बनाइए तिनीहरूसँग हामीले काम लिनै पथ्र्यो । त्यसैले हामी भित्रभित्र चित्त नबुझे पनि चुप बस्न थाल्यौँ । तर जे होस् ती अधिकृतमाथि चाहीँ अन्याय चाहिँ भएकै थियो । यो कथा सुन्नेलाई सुनको माला भन्नेलाई फुलको माला ।
जागिर धेरैले खान्छन्, अवकाश दैनिक हुन्छन् तर कथा नै लेखिने काम गर्न चाहिँ धेरै–थारैले मात्र सक्छन् ।
सिलवालको पनि आफ्नै थुप्रै कथा होलान्, त्यो पनि समेटिनेछ । यी सिलवाल भन्ने व्यक्ति जुन पदबाट अवकाश भए पनि प्रहरीमा एउटा छुट्टै इतिहास बनाएर जाने निश्चित देखिन्छ । प्रहरी संगठनमा राजनैतिक हस्तक्षेपको चरम नमुना, प्रहरीभित्रै पदको लागि गरिने चरम षड्यन्त्र, शक्तिमा जाने देख्दा र नजाने देख्दा प्रहरी कर्मचारीहरूको त्यस अधिकृतप्रतिको फरक–फरक दृष्टिकोण, अदालत र सरकारको द्वन्द्व, पैसाको खेल, आम मानिसको सिलवालप्रतिको दृष्टिकोण र प्रहरी अधिकृतको व्यवसायिक क्षमता राजनैतिक स्वार्थका अगाडी निरीह भएको प्रमाण, डन तस्कर र अपराधीहरूको प्रहरी कर्मचारीको वृत्त विकासमा भूमिका, पारिवारिक तनाव र आफ्ना वर्ग भनिएकाबाटै एउटा फुलीका लागि हुने पाप, सिलवालको कथासँग जोडिएको हुनेछ । सिलवाल कथाको अन्तमा हिरो पात्र होलान् वा भिलियन त्यो मैले अन्तिम कथा लेख्दा छुट्टिएला तर आम जनताका लागि उनको कथा कौतूहलताको विषय हुन सक्छ । हालै अवकाश भएका एसएसपी यादव खनालदेखि धेरै मर्कामा परेकाहरूका कथा पनि यहि कथाभित्र समेट्ने छु । यस विषयमा कथा र पटकथा म आफैँ लेख्न थालिसकेको छु । यो सिनेमाको नाम हुनेछ– ‘डिआइजी सिलवालको कथा’, जसलाई नेपालीहरूले बुझून् र आउने प्रहरी पुस्ताले परिवारसँग बसेर हेरुन् र प्रहरीभित्रको गोप्य रहस्यहरू बुझून् जुन रहस्यहरू बाहिरका आँखाले अनुभव गर्न सकेका छैनन् । जागिर धेरैले खान्छन्, अवकाश दैनिक हुन्छन् तर कथा नै लेखिने काम गर्न चाहिँ धेरै–थारैले मात्र सक्छन् । मलाई लाग्दछ, सिलवालको जीवनले प्रहरी संगठनको दीर्घकालीन सुधारमा एउटा अविस्मरणीय कथा छोडेको छ ।
लेखक नेपाल प्रहरीका पूर्व एसएसपी हुन् ।
दैनिक नेपाल बाट



