भूकम्पपीडित र मुसहरको लागि तीनवटा एकीकृत बस्ती निर्माण गरिसकेका हास्य कलाकार जोडी सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) ले सोमवार नमुना नेपाल बस्ती नामक नयाँ योजना सार्वजनिक गरे । धुर्मुसले नमुना बस्तीको योजना प्रस्तुत गरिरहँदा सुन्तली भने निकै भावुक देखिन्थिन । धुर्मुससुन्तलीले नमुना नेपाल बस्तीको योजना आफ्ना बुबासँग छलफल गरेका थिए । धुर्मुसले आमा र छोरीको प्रसंग पनि कोट्टाए ।
‘तिमीहरु किन सँधै यस्तै जोखिमयुक्त काम मात्रै गर्न रुचाउँछौ ?’ आफ्ना बुबाले सोधेको प्रश्न सीतारामले कार्यक्रमा सुनाएका थिए । बुबासँगको कुराकानी धुर्मुसले कार्यक्रममा भनिरहँदा मन्चको तल सोफामा अन्य अतिथीसँगै बसिरहेका सुन्तलीले मन थाम्नै सकिनन् । उनको आँखा तिलपिल गर्दै आँशु झार्न शुरु गरे ।
कार्यक्रमको अगाडि रहेका उनले तत्कालै आफ्नो कपडाले आँशु पुछ्न शुरु गरिन् । आँशु थाम्नै नसकेपछि टेबुलमा रहेको कापीले एकछिन मुख छोप्दै बसिन् ।
कार्यक्रममा उपस्थित अतिथि सबैलाई स्वागत गर्दै हाँस्दै गरेकी सुन्तली यसरी एकाएक रुन पुगिन् । श्रीमान् धुर्मुसले नमुना नेपालको योजना प्रस्तुत गरिरहँदा भने उनी ध्यान दिएर सुनिरहेकी थिइन् । जब धुर्मुसको योजना प्रस्तुत सकिए लगतै विभिन्न दाताहरुले सहयोग गर्ने घोषणा गरेका थिए । दाताहरुले सहयोग रकम घोषणा गरिरहँदा सुन्तली एकाएक फेरि दोस्रोपटक रुन पुगिन् । उनले खुशीको आँशु लुकाउनै सकिनन् ।
पहिला सानो परियोजनामा १० हजारबाट शुरु भएको सहयोग बढ्दै नमुना नेपाल निर्माणमा २० लाखसम्मको सहयोग रकम आउनु आफैंमा खुशी र कामप्रतिको विश्वास रहेको सुन्तलीले बताइन् । सरकारले जग्गा उपलब्ध गराईदिएमा चाँडै नै निर्माण शुरु गर्ने उनले बताइन् ।
हास्य कलाकारका रुपमा चर्चित धुर्मुस र सुन्तलीको जोडीले भूकम्पपीडितको बस्ती निर्माण गरेर सबैको वाहवाही पाएका थिए । काभ्रे, सिन्धुपाल्चोकको गिरानचौर र महोत्तरीको मुशहर बस्ती गरी तीनवटा एकीकृत बस्ती निर्माण गरिसकेका उनीहरुले सोमवार नमुना नेपाल बस्ती बनाउने घोषणा गरेका छन् ।
करिब ५ अर्ब लगानीमा निर्माण हुने उक्त बस्तीमा हिमाल,पहाड र तराईको झल्को दिने संरचना निर्माण गर्ने बताएका छन् । नमुना बस्तीको योजना प्रस्तुत गरिरहँदा कार्यक्रममा विभिन्न दाताहरुले आर्थिक सहयोग दिने घोषणा समेत गरेका थिए ।
अल्का अस्पतालले २५ लाख तथा मुक्तिनाथ बिकास बैंकले १० लाख दिने बस्ती निर्माणका लागि सहयोग गर्ने घोषणा गरेका थिए ।



