सुनसरीकी २३ वर्षीया रविना चौधरी वसुन्धरास्थित पञ्चाइन बोर्डिङमा पढाउन सोमबार बिहान नौ बजे सुकेधारास्थित घरबाट निस्किइन् । चक्रपथ चल्ने बस चढेर वसुन्धरामा ओर्लिइन् । चक्रपथबाहिर रहेको स्कुल जान जेब्रा क्रसिङबाट बाटो पार गर्न लाग्दा तीव्रगतिमा आएको यात्रुवाहक बसले उनलाई ठक्कर दियो । घटनास्थलमै उनको निधन भयो । डेढ महिनाअघि मात्र जागिर खान सुरु गरेकी रविनाको बसको लापरबाहीका कारण ज्यान गएको छ । यो खबर हामीले आजको अन्नपूर्णबाट लिएका हौ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकामा पैदल यात्रुलाई यात्रा गर्न सिकाइरहेका बेला जेब्रा क्रसिङमै पैदलयात्रु मारिएपछि ट्राफिक प्रहरीलाई टाउको दुखाइ बनेको छ । ‘निकै दुःखद घटना भएको छ । हामीले यत्रो अभियान चलाइरहेका बेला जेब्रा क्रसिङमै पैदलयात्रु मारिनुमा सवारीसाधनको चरम लापरबाही देखिएको छ । यस घटनालाई हामीले निकै संवेदनशील रूपमा लिएका छौं’, ट्राफिक प्रहरी महाशाखा प्रमुख डीआईजी मिङमार लामाले भने। उनले काठमाडौं प्रहरी परिसर र महानगरीय प्रहरी कार्यालयसँग घटनाका अपराधीलाई सख्त कारबाही गर्न अनुरोध गरेको बताए। दोषी धरौटीमा समेत नछुट्ने उनको भनाइ छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

वसुन्धरास्थित पञ्चाइन बोर्डिङमा पढाउन हिँडेकी २३ वर्षीया रविना चौधरीको सोमबार चक्रपथमा जेब्रा क्रसिङबाट बाटो काट्दै गर्दा गाडीको ठक्करले मृत्यु भएको छ ।

वीरगन्ज-काठमाडौं चल्ने ना.४ख ४२६२ नम्बरको रात्रिकालीन यात्रुवाहक बसले रविनालाई ठक्कर दिएको हो । यात्रु लिएर आइतबार साँझ वीरगन्जबाट हिँडेको उक्त बस यात्रुलाई ओराल्दै गौशाला-चाबहिलको बाटो भएर बसपार्कमा ‘बिसौनी’ गर्न हिँडेको थियो । चाबहिलस्थित पशुपति क्याम्पसमा अध्ययनरत रविनाले बीबीएस चौथो वर्षको परीक्षा दिएर जागिर सुरु गरेकी थिइन् । ‘त्यहाँको म्याम विदेश गएको बेला बहिनी (रविना) लाई दुई महिना पढाउन दिइएको थियो । पछि म्याम फर्किएपछि बहिनीले पढाउन छाडेकी थिइन् । बीबीएसको पढाइ सकेपछि उनलाई सोही स्कुलले बोलाएको थियो’, दाजु ईश्वरले भन्नुभयो, ‘पढाउन बिहान सुकेधाराबाट बस चढेर हिँडेकी थिइन् । वसुन्धरामा ओर्लिएर बाटो काट्न खोज्दा गाडीले ठक्कर दिएछ ।’

अविवाहित रविना चार छोरीमध्ये साहिली सन्तान् थिइन् । उनी बुबा-आमा, दाजु र दिदी-बहिनीसहित सुकेधारामा बस्दै आएकी थिइन् । आफन्तले शव बुझ्न मानेका छैनन् । मंगलबार यातायात व्यवसायी महासंघसँग छलफल गरेपछि मात्र शव बुझ्ने दाजु ईश्वरले बताए। प्रहरीले बसचालक बारा निजगढका २५ वर्षीय विनय तामाङलाई नियन्त्रणमा लिएको छ ।

महानगरीय प्रहरी वृत्त महाराजगन्जका प्रमुख गोविन्द पुरीले बस तीव्र गतिमा रहेका कारण दुर्घटना भएको बताए। चक्रपथको गौशाला-स्वयम्भू सडकखण्डमा पैदलयात्रु बढी दुर्घटनामा पर्ने गरेका छन् । ‘यो खण्डमा चालकले तीव्रगतिमा सवारीसाधन गुडाउँछन्, बाटोको बनोट पनि त्यही किसिमको भएका कारण चालकले होसियारी अपनाउन नसक्दा दुर्घटना बढेको हो’, डीएसपी पुरीले भने।