नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवा नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता हुन् ।
पिता श्रीप्रसाद देउवा र माता द्रौपदीदेवी देउवाका जेठा छोरा शेरबहादुर देउवाको जन्म २००३ जेठ ३१ गते डडेल्धुराको असीग्राम गाविस–५ रुवाखोलामा भएको थियो ।२०२२ सालमा सुदूरपश्चिमाञ्चल विद्यार्थी संघको संस्थापक सदस्य भई प्रजातान्त्रिक आन्दोलनमा होमिएका देउवा नेपाली कांग्रेसको भ्रातृसंगठन नेपाल विद्यार्थी संघका संस्थापक सदस्य हुन् ।
विसं २०२३ सालमा गठित तरुण–सभाको अध्यक्ष भएर काम गरेका उनी २०२८ असोज १ गतेदेखि २०३६ फागुन २९ गतेसम्म नेपाल विद्यार्थी संघको अध्यक्ष रहेका थिए । नेपाली कांग्रेसको १३ औं महाधिवेशनबाट देउवा पार्टीको सभापति बनेका हुन् ।
२०४८ सालमा संसदीय चुनाव जितेपछि २०४८ देखि २०५१ सालसम्म देउवाले गिरिजाप्रसाद कोइराला सरकारमा गृहमन्त्रीको पद सम्हालेका थिए । २०५२ देखि २०६१ सम्मको एक दशकको छोटो अवधिभित्र देउवा मुलुकको तीनपटक प्रधानमन्त्री बने । देउवाले २०५१ साल र २०५६ सालको संसदीय निर्वाचन तथा २०६४ र २०७० सालको संविधानसभा निर्वाचनमा डडेल्धुराबाट चुनाव जिते ।
२०५१ सालमा गठन भएको नेकपा एमालेको अल्पमतको सरकार बीचमै ढलेपछि देउवा पहिलोपटक २०५२ साल भदौ २६ गते प्रधानमन्त्री निर्वाचित भए ।
दोस्रोपटक २०५८ साल साउन ७ गतेदेखि प्रधानमन्त्री बनेका देउवालाई १८ असोज २०५९ मा राजा ज्ञानेन्द्रले बर्खास्त गरे ।
तिनै राजा ज्ञानेन्द्रले देउवालाई २०६१ साल जेठ २१ गते प्रधानमन्त्री बनाए । पछि राजा ज्ञानेन्द्रले मुलुकमा ‘कू’ गरे, देउवालाई अपदस्थ गरे र आफैं मन्त्रीपरिषद्को अध्यक्ष बने ।
मुलुकको शासनसत्ता आफ्नो हातमा लिएपछि पूर्वराजा ज्ञानेन्द्र शाहले भ्रष्टाचार नियन्त्रण गर्ने भन्दै शाही आयोग गठन गरे । देउवा उक्त आयोगको निशानामा परे ।
भक्तबहादुर कोइराला अध्यक्ष रहेको भ्रष्टाचार नियन्त्रण शाही आयोगले देउवालाई मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार गरेको आरोपमा पक्राउ ग–यो । देउवासँगै तत्कालीन भौतिक योजना तथा निर्माण मन्त्री एवं नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहलाई पनि शाही आयोगले पक्राउ गरेको थियो ।
देउवा र सिंह दुवैले शाही आयोग अवैधानिक भएको बताउँदै बयान दिन मानेनन् । सर्वोच्च अदालतले उक्त आयोगलाई खारेज गरिदिएपछि देउवा थुनामुक्त भएका थिए ।
पार्टीभित्रको अन्तःसंघर्षका कारण देउवाले २०५९ सालमा कांग्रेस पार्टी फुटाएर नेपाली कांग्रेस (प्रजातान्त्रिक) गठन गरी त्यसको सभापति बनेका थिए ।
दोस्रो जनआन्दोलन सम्पन्न भएपनि २०६४ सालमा उनले नेतृत्व गरेको नेपाली कांग्रेस (प्रजातान्त्रिक) माउ पार्टीमा विलय भयो ।
सभापति देउवा प्रजातान्त्रिक पार्टीको अन्तर्राष्ट्रिय संगठन सोसलिस्ट इन्टरनेसनलका उपाध्यक्ष र संगठनको एसिया क्षेत्रको अध्यक्षको भूमिकामा छन् ।
राजनीतिक संघर्षका क्रममा देउवाले पटक–पटक गरेर नौ वर्ष जेलजीवन बिताएका छन् ।
त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर र कानूनमा स्नातक गरेका देउवा सन् १९८८–८९ मा बेलायतको लन्डन स्कूल अफ इकोनोमिक्समा राजनीतिशास्त्र विषयको रिसर्च फेलो हुन् ।
देउवाकी पत्नी डा. आरजु देउवा सांसद छिन् । देउवाका एकमात्र सन्तान जयवीर देउवा हुन् ।










