दमौली, २ माघ (रासस) ः माघे सङ्क्रान्ति पर्वको अवसरमा तीन लाखभन्दा बढी भक्तजनले पवित्र धार्मिक तीर्थस्थल देवघाटस्थित त्रिशूली र कालीगण्डकीको सङ्गम वेणीमा स्नान गरेका छन् । स्नान गर्नका लागि भक्तजन बुधबारदेखि नै देवघाटधाम पुगेका थिए । देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धीरेनबाबु घिमिरेले यस वर्ष तीन लाखभन्दा बढी भक्तजनले सङ्गममा स्नान गरेको जानकारी दिनुभयो । कोभिडको जोखिमका कारण यस वर्ष क्षेत्र विकास समितिले औपचारिक कार्यक्रमको आयोजना गरेको थिएन । यद्यपि भक्तजनहरू स्वतःस्फूर्त देवघाटमा स्नान गर्न आएको कार्यकारी निर्देशक घिमिरेले बताउनुभयो । देवघाट क्षेत्र विकास समितिले औपचारिकरूपमा मेलाको आयोजना नगरे पनि व्यवस्थितरूपमा स्नान गर्ने व्यवस्था भने मिलाइएको थियो । उहाँका अनुसार विभिन्न उपसमितिहरू गठन गरी मेलालाई व्यवस्थित बनाइएको थियो । तनहुँको देवघाट गाउँपालिका–५ स्थित त्रिशूली नदी र कालीगण्डकी नदीको सङ्गम वेणीमा बुधबार बिहान बाँसको लिङ्गो गाडेर माघे सङ्क्रान्ति मेलाको शुभारम्भ गरिएको थियो । नदीमा स्नान गर्न र मेला भर्न आउनेहरूलाई वारपार गर्न त्रिशूली नदीमा २५ वटा ठूला डुङ्गाको व्यवस्था मिलाइएको थियो । नदीमा स्नान गर्ने भक्तजनको सुरक्षाका लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल रेडक्रसका उद्धारकर्ता एवं स्थानीय बोटे समुदायलाई परिचालन गरिएको थियो । सशस्त्र प्रहरी र बोटेहरूले डुङ्गामार्फत नदीमा यात्रा गरेर स्नान गर्ने भक्तजनहरूको सुरक्षा गर्ने र दुर्घटना भएमा आपतकालीन उद्धारको तयारी गरेका थिए । हजारौँ सवारी साधनको ओहोरदोहोर हुने भएको हुँदा देवघाट जाने सवारी साधनलाई चितवनको रामनगर, ठिमुरा र दासढुङ्गाबाट जाने र फर्कँदा आँपटारी हुँदै आउने व्यवस्था मिलाइएको कार्यकारी निर्देशक घिमिरेले बताउनुभयो । मुग्लिङ–नारायणगढ सडकखण्डको दासढुङ्गामा पक्की पुल निर्माण भइसकेको हुँदा अधिकांश भक्तजनहरू दासढुङ्गा हुँदै देवघाट गएका थिए । माघे सङ्क्रान्तिमा देवघाटमा हुने मेला नेपालकै सबैभन्दा ठूलो र प्रसिद्ध मानिन्छ । विगत वर्षहरूमा माघे सङ्क्रान्तिको दिनमात्रै पाँच लाखभन्दा बढी भक्तजनले मेलाको अवलोकन गर्ने र वेणी सङ्गममा स्नान गर्थे । गोसाइँकुण्डबाट बगेको त्रिशूली र दामोदरकुण्डबाट बगेको कालीगण्डकीको सङ्गम देवघाटको वेणीमा स्नान गर्नाले पुण्य प्राप्त हुने विश्वास छ । यसैले माघे सङ्क्रान्तिमा स्नान गर्न भारत तथा नेपालका विभिन्न जिल्लाबाट लाखौँ भक्तजन देवघाट आउने गर्दछन् ।



